धर्मदेवी । स्थनीय तहको निर्वाचन नजिकिंदै जाँदा धर्मदेवी नगरपालिकाको नगर प्रमुखको उम्मेदवारको विषयमा चर्चा सुरु भएको छ । सोही मेसोमा नेकपा एमालेबाट नगर कमिटी अध्यक्ष सूर्य पौडेलको नाम चर्चामा छ । अन्य केहीको नाम आएपनि एमालेबाट सूर्य पौडेलको संभावना बढी देखिएको जानकारहरु बताउँछन् । हरेक हिसावले जित्ने उम्मेद्वार उठाउनु पर्ने बाध्यतामा रहेको एमालेले सोही कुरालाई मध्यनजर गर्दै पौडेललाई उम्मेदवार बनाउने संभावना रहेको पार्टीका कार्यकर्ताहरुको भनाइ छ । पार्टीले आफुलाई उम्मेदवार बनाउने संभावना देखेर नै पौडेल यतिबेला नजिकिंदो निर्वाचनमा जित निकाल्ने गरि तयारी गरिरहनु भएको छ ।

 

स्थानीय विकासका विभिन्न मोडलका सम्बन्धमा पर्याप्त अध्ययन गरेका पौडेल धर्मदेवी नगरपालिकालाई ‘ब्यूटीफुल स्मल सिटी’ बनाउने बताउनुहुन्छ । संखुवासभा जिल्लाकै नाकाको रुपमा रहेको धर्मदेवी नगरपालिकाको केन्द्र रहेको मुढे बजार, माम्लिङ बजार, बिहीबारे बजार, याख्खा चौक लगायतका क्षेत्रलाई व्यवस्थित गरि स्मल सीटीको अवधारणा अनुशार विकास गर्ने पौडेलको योजना छ । साथै अन्य जोखिमपूर्ण ठाउँमा रहेका बस्तीहरुलाई स्थानान्तरण गरि एकीकृत बस्तीको रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ । यी ठाउँहरुमा स्थानीय मौलिकता अनुशारका घर तथा संरचना निर्माण गर्ने र यहाँका डाँडाहरुलाई प्रकृतिक रुपमा सिंगारेर सुन्दर पर्यटकीय स्थल बनाउने पौडेल बताउनुहुन्छ । साथै लालीगुराँसको राजधानी भनेर चिनिएको टीएमजे क्षेत्रलाई मध्यनजर गर्दै त्यहाँसम्म पुग्ने बाटोको स्तरोन्नती गर्ने र त्यसलाई जोडेर पर्यटनको हब बनाउने पौडेलको महत्वपूर्ण योजना छ । पर्यटन क्षेत्रको विकासबाट मात्र यस ठाउँको विकास हुने बुझेका पौडेल आफैंले पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्ने भन्ने सोचेर मूढे बजरमा होटल संचालन गर्नु भएको छ । आफूसँग यी बाहेक अन्य धेरै योजनाहरु रहेको भन्दै उहाँले आफुले नेतृत्व गर्न पाएको अवस्थामा धर्मदेवीलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य र कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो ।

 

कृषिमा आधुनिकिकरण गरि परम्परागत खेति प्रणालीलाई बैज्ञानिक खेति प्रणालीमार्फत विस्थापित गरि कृषिजन्य बस्तुको निर्यात बढाएर नगरलाई सम्बृद्ध बनाउने उहाँको योजना छ । अलैंची, अम्लिसो, तरकारी खेति, पशुपालन लगायतका क्षेत्रमा लगानी बढाएर सबै कृषकलाई उत्पादनमुखि कृषिमा जोड्नु पर्नेमा उहाँको जोड छ । कृषि क्षेत्रको विकासका लागि पशु तथा कृषि बालीको विमा, बजारको सुनिश्चितता जस्ता कुरालाई ध्यान दिनुपर्ने पौडेलको भनाइ छ । पार्टीले विश्वास गरेर उभ्यायो भने आफ्नो जित सुनिश्चित रहेको भन्दै उहाँले पार्टीले टिकट दिने चर्चा चलेसँगै सबैतिरबाट अत्यन्तै सकरात्मक प्रतिकृया पाएको बताउनुभयो । सबै दलका नेता कार्यकर्तासँगको समान व्यवहारका कारण पनि आफुलाई चुनाव जित्न गाह्रो नभएको उहाँले दाबी गर्नुभयो ।

 

धर्मदेवीमा अघिल्लो स्थानीय चुनावमा नेपाली कांग्रेसका रमेश कुमार जीमी विजयी हुनु भएको थियो । यता कार्यपालिकामा बहुमत भने नेकपा एमालेको रहेको छ । अघिल्लो चुनावमा पार्टी भित्रकै समस्याका कारणले प्रमुख र उपप्रमुख पद गुमाएको एमालेले यसपाली पार्टीलाई एकढिक्का बनाएको जनाएको छ । कांग्रेसबाट हालका नगर प्रमख जीमीसहित, जिल्ला सदस्य झनकबहादुर न्यौपाने, पूर्व जिल्ला सदस्य गोविन्द थापा, हालका नगर सभापति बद्री घिमिरे लगायत नगर प्रमुख पदका आकांक्षी छन् । एमालेबाट पौडेलको उम्मेदवारीमा प्राय एकमत रहेकोमा नेपाली कांग्रेसबाट धेरै आकांक्षी देखिएकाले पनि पौडेललाई जित निकाल्न सहज हुने अनुमान गरिएको छ ।