शुक्रबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) स्वदेश फर्किंदै छन्।

काठमाडौंका लागि विमान चढ्नुअघि बिहान ९ बजे उनी भारतको वाराणसीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि आजै अपराह्न सवा ४ बजे उनी नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन्। 

पत्नी आरजु देउवासहित शुक्रबार अपराह्न दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य छन्।

भ्रमण टोलीमा सहभागी मन्त्रीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्।