सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सर्वसहमतिमा उम्मेदवार छनौट गरेको छ । नेकपा एमालेले वर्तमान वडाध्यक्ष जीवन कुमार राईलाई पुनः वडाध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ ।

वडामा बसेको शाखा कमिटीको भेलाले सहमतिमै वडाध्यक्ष लगायतका सबै उम्मेदवारहरु चयन गरेको हो । वडाध्यक्षमा जीवनकुमार राईलाई चयन गरेको एमालेले दलित महिला सदस्यमा वर्तमान वडासदस्य टुनाकुमारी विश्वकर्मालाई पुनः उम्मेदवार बनाउने भएको छ । अन्य ३ सदस्यमा भने एमालेले नयाँ अनुहारलाई अघि सारेको छ । जसमध्ये महिला सदस्यमा गीता मिश्र तथा खुल सदस्यमा शिवराज चौधरी र तेजबहादुर प्रधानलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । विश्वकर्मा एमाले नगर कमिटी सदस्य तथा नेपाल उत्पिडित जातिय मुक्ति समाजकी केन्द्रीय सदस्य हुनुहुन्छ भने गीता मिश्र र शिवाराज चौधरी शाखा कमिटी सदस्य हुनुहुन्छ । यस्तै तेजबहादुर प्रधान एमालेका संगठीत सदस्य तथा पूर्व गाउँ कमिटी सदस्य हुनुहुन्छ । 275359179_1644424349237310_2533657368858570481_n

यता वडाध्यक्षका उम्मेदवार राई हालका वडाध्यक्ष तथा नेकपा एमाले मोरङका जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ । राजनीति संगसँगै शिक्षण पेशालाई समेत निरन्तरता दिंदै आउनु भएका राईले २०७१ सालमा शिक्षण पेशाबाट स्वेच्छिक अवकास लिनु भएको हो । स्वेच्छिक अवकास लिंदा राई सुन्दरहरैंचा ४ स्थित जनचेतना आधारभुत विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । त्यसअघि उहाँले सुन्दरहरैंचा ४ मै पर्ने आदर्श आधारभुत विद्यालय र सुन्दरहरैंचा ३ मा पर्ने जननी आधारभूति विद्यालयमा पनि अध्यापन गराउनु भयो । 

पूर्वशिक्षक रहेका राई यस क्षेत्रमा निकै चीरपरिचित भएकाले अघिल्लो स्थानीय तह निर्वाचनमा सानदार जित हात पार्न सफल हुनु भएको थियो । वडाध्यक्षको जिम्मेवारीमा रहिरहँदा कुनै विवादमा नआउनु भएको तथा सबै दललाई मिलाएर लैजान सक्ने खुबी भएकाले फरक दलका व्यक्तिहरुले समेत राईको प्रशंशा गर्ने गरेका छन् । सुन्दरपुर क्षेत्रका पुराना बासिन्दा राईको सादा जीवन शैली, कसैलाई नचिढ्याइ सबैसँग सहज र सरल व्यवहार गर्ने बानी तथा स्थानीय थारु समुदायसँग समेत राम्रै घुलमिल भएकाले पनि उहाँलाई बलियो उम्मेदवारको रुपमा लिइएको छ । साथै सुन्दरहरैंचा ६ अर्थात साविकको सुन्दरपुर क्षेत्र कम्युनिष्टको गढको रुपमा रहेको तथा अघिल्लो निर्वाचनमा समेत सहज जित हात पारेकाले यसपटकको निर्वाचनमा पनि राईको जित सुनिश्चित रहेको एमालेका नेता कार्यकर्ताहरुको भनाइ छ । 

सुन्दरहरैंचा ६ मा एमालेले वडाध्यक्ष लगायत सबै पदमा विजयी भएपछि वडाको विकासमा गरेको कामलाइ हेरेर पनि वडाबासीले पुनः एमाले उम्मेदवारलाई नै जिताउने यसै वडाका बासिन्दा समेत रहेका राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका अध्यक्ष जयप्रकाश रायमाझीको भनाइ छ । खासगरि वडाले नगरबाट सिमित बजेट मात्र पाएको अवस्थामा समेत पूर्वमन्त्री तथा यस क्षेत्रका सांसद् लालबाबु पण्डितमार्फत पहल गरि सुन्दरहरैंचा ६ मा सडक निर्माण तथा गछिया खोलाको तटबन्धनका लागि धैरै काम गरेकाले समेत जनताले सो कामको मूल्यांकन गरेर राई सहितको टीमलाई पुनः विजय गराउनेमा आफु ढुक्क रहेको रायमाझीको भनाइ छ ।