प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नेपालको संविधान जारी भएपछि स्थापित प्रदेश संरचनाले जनताका आवश्यकता सँगै विकासका कामहरू पनि थप भइरहेको बताएका छन् । 

नव वर्ष २०७९ साल प्रारम्भको अवसरमा शुभकामना जारी गर्दै उनले जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने बताए । उहाँले भने, ‘राजनीति पेसा हैन सेवा हो । जनप्रतिनिधि जनताको शासक हैन सेवक बन्नु पर्दछ ।‘प्रदेश सरकार त्यसमा पनि मेरो नेतृत्वमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनभावना अनुसार कार्य सम्पादन गरिरहेको छ । आफू जिम्मेवारीमा रहँदासम्म जनताको मनमा बसेर जनभावना अनुसारका काम गर्ने अठोट लिएको छु । नयाँ वर्षको आगमनसँगै मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व अझ बढी सुदृढ कायम हुनेछ भन्ने अपेक्षा गरेको छु,’ मन्त्री कार्कीले भनेका छन् । 

आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने भएकाले अग्रगामी निकासका लागि दृढ सङ्कल्प आवश्यक भएको उल्लेख गर्दै उनले असल जनप्रतिनिधिको पहिचान बनाउन आवश्यक रहेको बताए ।