१ वैशाख, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले नेपालमा गाडीको आयु २० वर्षसम्म मात्र तोक्नु वैज्ञानिक नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विदेशबाट खरीद गरेर ल्याइने यातायातका साधन २० वर्ष भन्दा चलाउन नपाउनु उचित नहुने धारणा राखे ।उनले २० वर्ष पुगेका गाडी फिजिकल फिटनेस सेन्टरमा जाँच गरेर वातावरण प्रदुषणको हिसाबले ठीक छ भने चल्न दिनुपर्ने जिकिर गरे ।गाडीमा चल्ने २० वर्षको मापन वैज्ञानिक भएन । त्यसलाई फिजिकल फिटनेस सेन्टरमा लगेर चेक गरौं । यदि सडकमा गुड्न सक्छ, वातावरण प्रदुषणको हिसाबमा ठीक छ भने चल्न सक्ने भए चलाउनुपर्छ’ उनले भने ।

अध्यक्ष स्वाँरले २० वर्षमै गाडी चल्न नदिने व्यवस्थाले नेपाललाई नोक्सान हुने बताए । ‘अहिले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने गरिएको छ त्यस्तो काम तत्काल बन्द गर्नुपर्छ ।उनले सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्न तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् । ‘सरकार र यातायात व्यवसायीहरु बसेर यातायात प्राधिकरण गठन गरौं ढिला नगरौं । यातायात क्षेत्र आईसीयूमा छ । यसलाई निकाल्ने काम गरौं । यातायात क्षेत्र पुनः जागृत गर्ने काम गरौं ।’

अध्यक्ष स्वाँरले सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो बनाउने आफ्नो योजना रहेको सुनाए । १० अर्बको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदुर मिलेर पुँजीको संरक्षण गर्न आवश्यक रहेको अध्यक्ष स्वाँरको भनाइ छ ।