नेपाल सुशासन पार्टीले निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज अन्तरिम आदेशबारे छलफल हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासमा रिटको पक्ष र विपक्षबीच छलफल हुने भएको हो ।रिट निवेदकको तर्फबाट संविधानविद् समेत रहेका अधिवक्ता डा.भीमार्जुन आचार्य अन्तरिम आदेश बारेको छलफलमा सहभागी हुनेछन् । विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् ।यसअघि २८ चैत २०७८ मा न्यायाधीशहरू प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संयुक्त इजलासमा अन्तरिम आदेशबारे छलफलका लागि रिटको पेसी तोकिएको थियो ।तर, समय अभाव देखाउँदै त्यसबेला ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो । रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् ।उनले गत ९ चैतमा रिट दायर गरेका हुन् । रिटमाथि १३ चैतमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले रिटको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।


