काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ। सोमबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा निर्वाचन आयोगले ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको हो।
आवश्यक एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरप्याड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ। साइनबोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरूपता कायम गर्नका लागि सोको नमुना पठाउन निर्देशन दिइएको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा आएका सूचनाको आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग जवाफ पेस गर्न पत्राचार गरेको समेत आयोगले जनाएको छ।


