महिला प्रहरीको हत्या भएको मोरङको लेटाङ घटनामा जोडिएका लेटाङ नगरपालिका–३ का ५६ वर्षीय शिक्षक मनोजकुमार पौडेललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकका अनुसार न्यायाधीश दुर्गा खड्काको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी पौडेललाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि शिक्षक पौडेललाई कारागार चलान गरिएको जानकारी बुढाथोकीले दिए ।
लेटाङ–५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक पौडेल त्यहीँ अध्ययनरत १२ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गरेको थियो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन (मिसिल)का आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । द्दामा वादी नेपाल सरकार र प्रतिवादी पौडेल पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएपछि अदालतको सोमबार साँझ उनलाई थुनामा पठाउन आदेश दिएको हो । शिक्षक पौडेलले छात्रालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि उग्र बनेको आन्दोलन हिंसात्मक झडपमा परिणत हुँदा गत चैत ६ गते महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो ।
गोली हानेर उनको हत्या गरिएको पत्ता लागेको छ । प्रहरीले भने उत्तेजित भिडबाट प्रहार भएको गोलीले श्रेष्ठको मृत्यु भएको बताउँदै आएको छ । तर घटनामा प्रयोग गरिएको हतियार प्रहरीले फेला पारेको छैन । महिला प्रहरीको हत्यामा संलग्न भनिएकाको पनि पहिचान खुलेको छैन ।
प्रहरीले हालसम्म उक्त घटनामा संलग्न ७२ जनालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याएको छ ।


