विगतका चुनावी परिणाम हेर्दा सुनसरीकाे इटहरी उपमहानगरपालिकामा नेकपा एमाले बलियाे छ । तर विभाजन र विपक्षी गठबन्धनका कारण यसपालिचाहिँ उसलाई सजिलाे छैन ।
एमालेलाई चुनौती दिन सक्ने पार्टी कांग्रेस हाे । तर गठबन्धनमा भागवण्डा मिलाउँदा उसको हातबाट मेयर पद फुत्किने सम्भावना पनि छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दैछ । साेही बैठकले मेयर कसलाई दिने टुंग्याउनेछ ।
गठबन्धनमा बाँडफाँट गर्दा इटहरी र हेटौँडा नेकपा (एकीकृत समाजवादी)को भागमा पर्न सक्ने चर्चा छ । यसाे हुँदा इटहरीका कांग्रेसजनले समाजवादीका केशवकुमार विष्टलाई भाेट हाल्नुपर्नेछ । गठबन्धनकाे अन्तिम निर्णय कुरिरहेका विष्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव हुन् । समाजवादी पार्टी इटहरीले उनलाई मेयर उम्मेदवारका रूपमा निर्विकल्प अघि सारेको छ ।
समाजवादीले इटहरी पाउने सुइँकाे पाएलगत्तै सुनसरी कांग्रेसका नेताहरू काठमाडाैं आइसकेका छन् । केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, नगरसभापति हेमकर्ण पौडेल, महाधिवेशन प्रतिनिधि रोहित प्रसाईंलगायत नेता पार्टी नेतृत्वलाई इटहरीकाे गणित बुझाउन प्रयत्नरत छन् ।
आजै दिउँसो काठमाडौं आइपुगेका रोहित प्रसाईं अघिल्लाे निर्वाचनमा मेयर उम्मेदवार थिए । उनले १९ हजार ९ सय ८५ मत पाएका थिए । मेयर जितेकाे एमालेका द्वारिकलाल चाैधरीले २२ हजार ६ सय ८९ मत ल्याएका थिए ।
०७४ को चुनावमा कांग्रेसले २० मध्ये ११ वटा वडा जितेको थियो । एउटा वडा जितेकाे तत्कालीन फाेरम लाेकतान्त्रिक कांग्रेसमा समाहित भइसकेकाे छ । त्यसैले १२ वटा वडामा एक्लै लड्दा पनि जितिने अनि एमाले फुटेकाे असर परेकाले इटहरीकाे मेयर छाड्न नसकिने अडान सुनसरीका नेताले बालुवाटारलाई सुनाइसकेका छन् । 'हामीलाई नै भोट हाल्ने ४० हजार मतदाता छन् । यस्तोमा कमजोर नेकपा एसलाई हामीले मेयर छोड्ने कुरा आउँदैन', प्रसाईंले शिलापत्रसित भने । चुनावको तयारीमा लागिसकेको कांग्रेसले मेयरको साँचो समाजवादीले पाउने भेउ पाएलगत्तै हिजो एकाएक चुनावी गीत सार्वजनिक गरेको थियो । जबकि, त्याे गीत भव्य कार्यक्रम गरी सार्वजनिक गर्ने कांग्रेसको तयारी थियाे ।
कांग्रेसबाट रोहित प्रसाईंसहित हेमकर्ण पौडेल, भीम पौडेल, विकास केसी, कल्पना चौधरी, सूर्य राई, नगेशचन्द्र राई, रमेश पोखरेल, रेखा प्रसाईं, विष्णु डाँगी र रामरोहन चौधरी मेयरका लागि सिफारिस भएका छन् । यीमध्ये पनि राेहित र हेमकर्णमध्ये एकले टिकट पाउन सक्ने कांग्रेस स्राेत बताउँछ । हेमकर्णले लगातार तेस्राेपटक नगर सभापति बनेर इटहरी कांग्रेस हाँकिरहेका छन् ।
तल्लो तहमा जेजस्तो किचलो भए पनि जतिसक्दो छिटो भागबण्डा टुंग्याउनुपर्ने दबाब पाँच दलीय गठबन्धनलाई छ । अरूतिर मिलाउन पनि इटहरी छोड्न कांग्रेस नेतृत्व तयार भएको बताइन्छ । विजय गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर सुनसरी कांग्रेसका नेताले मेयर नछोड्न दबाब दिएका छन् । तर उनीहरूको दबाब अनि गच्छदार र कार्कीकाे सक्रियता काम लाग्छ वा लाग्दैन, थाहा पाउन गठबन्धन बैठकको निर्णय कुर्नैपर्छ ।विपक्षी गठबन्धनसँग भिड्न एमाले एक्लै मैदान उत्रिने सम्भावना कम छ । किनकि २०७४ कै जस्ताे सग्लाे ऊ छैन । छुट्टिएकाे समाजवादीले एमालेकाे केही हजार भाेट काट्ने अनुमान गरिएकाे छ । त्यसैले एमालेले राप्रपासँग तालमेल गर्ने सम्भावना छ । वडा नम्बर २ का अध्यक्षसमेत रहेका एमाले नेता हर्कबहादुर मगरका अनुसार राप्रपासित एक चरण छलफल भइसकेकाे छ । तर निचाेडमा पुग्नचाहिँ बाँकी छ । 'विपक्षी गठबन्धन हामीसित लड्न तयार रहेकाले राप्रपासँग छलफल भइरहेकाे छ', मगरले शिलापत्रसित भने ।
फुटकाे भर्पाइ गर्न एमालेले राप्रपा नेता रोहितकुमार कार्की र माओवादीका भीमप्रसाद सुवेदीलाई पार्टीमा भित्र्याइसकेकाे छ । २०७४ सालमा राप्रपाबाट मेयर उम्मेदवार बनेका कार्कीले ३ हजार ७ सय १५ मत पाएका थिए भने माओवादी केन्द्रबाट उपमेयर लडेका सुवेदीलाई मेयर उम्मेदवारभन्दा ज्यादा ४ हजार ८ सय ३१ मत मिलेकाे थियाे । त्याे चुनावमा माओवादीकी मेयर उम्मेदवार हरिमाया जिमीले तीन हजार तीन सय ६४ मत पाएकी थिइन् । माओवादीबाटै संघीय सांसदका उम्मेदवार हिमाल सुवेदी पनि एमाले प्रवेश गरिसकेका छन् । त्यसैले राप्रपा र एमालेकाे गठबन्धन हुँदा इटहरीमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ ।
एमाले इटहरी नगर कमिटीले मेयर द्वारिकलाल चौधरीसहित उपमेयर लक्ष्मी गौतम, नगर कमिटी अध्यक्ष यमकुमार सुब्बा, प्रदेश कमिटी सदस्य एवं इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, पूर्व नगर कमिटी अध्यक्ष रेवतीप्रसाद घिमिरे र जिल्ला सदस्य बन्नुलाल चौधरीकाे नाम उम्मेदवारीका लागि सिफारिस गरेकाे छ । यीमध्ये चाैधरी र चौलागाईं बलिया दाबेदार हुन् ।
इटहरीमा नेकपा एसको स्थिति के छ, परीक्षण हुन बाँकी नै छ । केन्द्रमा भाग मिलाउँदा मेयरको कुर्सी नेकपा एसनजिक पुगेको बताइन्छ । यसबारे गठबन्धनले औपचारिक निर्णय गर्न बाँकी नै छ । गठबन्धनले नेकपा एसकै पक्षमा निर्णय गरेमा केशवकुमार विष्ट तयार बसेका छन् । तर कांग्रेसले मेयर छोड्दै नछोड्ने अडान लिइरहेकाे स्थितिमा नेकपा एसका उम्मेदवारलाई भोट हाल्नुपर्ने कुरा कांग्रेसजनले पूरापूर नस्वीकार्ने कांग्रेस इटहरी नगर कमिटी सचिव विक्रम घिमिरे बताउँछन् । 'यति ठूलो जनमत भएको पार्टीलाई नदिएर जनमत नै नभएको पार्टीलाई उपमहानगर जिम्मा लाउने कुरा हामीलाई स्वीकार्य हुँदैन । यस्तो स्थिति आइपरे नेकपा एसलाई भोट हाल्न कांग्रेसजन बाध्य हुने छैनन्', उनले भने ।
नेकपा एसका उम्मेदवार केशवकुमार विष्ट गठबन्धनका तर्फबाट आफू मेयर हुने सम्भावना ७५ प्रतिशत रहेको बताउँछन् । आफूले टिकट पाए सजिलै जित्ने उनको दाबी छ । उनले शिलापत्रसित भने, 'हाम्रो पार्टी इटहरीमा कमजोर छैन । मैले टिकट पाएमा जित्छु । कांग्रेसका साथीहरूले सहयोग गर्नेमा म ढुक्क छु ।'
अघिल्लो चुनावमा माओवादीले वडा नम्बर १० मा एक वडा सदस्य मात्र जितेको थियो । त्यस हिसाबले इटहरीमा माओवादी कमजोर छ । तर एमालेले राप्रपासँग तालमेल गर्दा सत्ता गठबन्धनका उम्मेदवारलाई माओवादीको मतले खास अर्थ राख्ने छ ।
इटहरीमा यसपालि २७ हजार मतदाता थपिएका छन् । ०७४ चुनावमा ७७ हजार ६ सय ९७ मतदाता थिए नयाँ थपिएकालाई जोड्द याे संख्या एक लाख चार हजार ६ सय २६ पुगेको छ । अघिल्लाे चुनावमा खसेको मतको ५२ हजार पाँच सय २२ मत सदर भएको थियो ।


