नेकपा एमालेकाे प्रभाव क्षेत्र मानिएकाे धरान उपमहानगरपालिकाका वडाहरूमा सत्तारूढ गठबन्धन दलहरूले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारले वडामा एउटै चुनाव चिन्हबाट लड्ने सहमति गरेका हुन् ।    

धरानमा मेयर नेपाली काङ्ग्रेस र उपमेयर माओवादी केन्द्रले पाएको छ । वडा अध्यक्षसहित सदस्यका उम्मेदवारले एउटै चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएकाे नेकपा माओवादी केन्द्रका नेता आइन्द्रविक्रम बेघाले जानकारी दिए । उनका अनुसार मेयर उपमेयर भने आ–आफ्नो चुनाव चिन्हबाट लड्ने सहमति भएकाे छ ।मेयर–उपमेयर आफ्नो पार्टीको चुनाव चिन्हबाट लड्ने सहमति भएको छ,’ उनले भने,‘ वडामा जुन पार्टीले वडा अध्यक्षको टिकट पाएको छ, सोही पार्टीको चुनाव चिन्हबाट सदस्यहरु उम्मेदवार बन्ने सहमति भएको छ ।' सहमति अनुसार काङ्ग्रेसकाे भागमा परेकाे वडामा अरू दलबाट कार्यकर्ता चुनाव चिन्ह रूखबाट नै उम्मेदवार बन्नेछन् ।    

धरानमा यसअघि नै एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो । केन्द्रको फरक निर्देशन  नआए वडाहरूमा एउटै चुनाव चिन्ह लिएर अघि बढ्ने बेघाले जानकारी दिए । वडामा सबै दलको प्रतिनिधित्व हुने उनले  जानकारी दिए । धरानमा वडा अध्यक्षको टिकट लिनेले सदस्य अरु पार्टीलाई छोड्नुपर्ने छ । 

धरानमा काङ्ग्रेसले मेयरसहित १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ वडाअध्यक्ष पाएको छ ।  माओवादी केन्द्रले उपमेयरसहित ३, १५, १७ र २० नम्बर वडाअध्यक्ष पाएको छ । जसपाले धरानको १० र १९ वडा अध्यक्ष पाएको छ । नेकपा एकिकृत समाजवादी पार्टीले वडा नम्बर ४ पाएको छ । 

२०७४ को निर्वाचनमा धरानमा नेकपा एमालेले मेयर उपमेयरसहित १४ वटा वडा जितेको थियो । माओवादी केन्द्रले १ र काङ्ग्रेसले पाँचवटा वडा जितेको थियो । एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि तत्कालिन नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गर्दै काङ्ग्रेस उम्मेदवार तिलक राई मेयरमा निर्वाचित भएका थिए ।