इटहरी | इटहरीमा गएराती विवाह उत्सवमा विवाद हुदाँ एक भारतीय युवकको मृत्यु भएको छ । इटहरी ६ स्थित स्वागत टोलमा भएको विवाह उत्सवमा विवाद हुदाँ भारत बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृत्यु भएको हो ।
पटेल केटी पक्षका आफन्त हुन् । जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको विवाद भएको थियो । विवादकै क्रममा पटेलमाथि तीन जनाको समुहले कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ का २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साह रहेका छन् ।
चोरीको विषयमा मृतक र तीनैजनाबीच विवाद भएको प्रहरीले जनाएको छ। प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो । ‘विवाह उत्सवमा मृतकलाई चोरीको आरोप लागेपछि कुटपिट भएको थियो’ इटहरीका डीएसपी खगेन्द्र खड्काले भन्नुभयो, ‘गम्भीर अवस्थामा विराट नर्सिङमा उपचारको क्रममा मृत्यु भयो ।’


