नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर सागर थापा र उपमेयर शिल्पा निरौला कार्कीलाई उम्मेदवार उठाउने निर्णय गरेको छ । थापा नेकपा एमाले विराटनगर महानगर कमिटि अध्यक्ष हुन् भने शिल्पा महानगर कमिटी उपाध्यक्ष हुन् ।
एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेट सुझावका थप्दै केन्द्रीय कमिटी सचिवालयमा सिफारिस गरेको थियो ।
सोमबार विहान २ बजे मेयरमा थापा र उपमेयरमा कार्कीलाई उम्मेदवार बनाउने गरी केन्द्रीय सचिवालयबाट निर्णय भएको जनाइएको छ । एमालेमा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवारको निर्णय केन्द्रीय सचिवालयले गर्ने अधिकार थियो ।
एमालेले देशभरीका ६ वटा महानगर मध्ये विराटनगरमा ‘हेभी वेट’ उम्मेदवार खोज्ने प्रयास गरेको थियो । नाम टुंग्याएसँगै एमालेले देशभरीका छ वटै महानगरमा मेयर र उपमेयरको नाम टुंग्याएको छ । विराटनगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले मात्रै उम्मेदवारको निर्णय गर्न बाँकी रहेको छ ।


