नेकपा एमालेको दह्रो जगको रूपमा इटहरीलाई हेर्ने गरिन्छ । नगरपालिका हुँदै उपमहानगर सम्म आई पुग्दा जनप्रतिनिधिका रूपमा नेकपा एमालेका नेताहरूले नेतृत्व गर्दै आएको छ । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत एमालेबाट मेयरमा द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले जनताको सेवा गर्ने अवसर पाएका थिए । 


५ वर्षको अन्तरालमा स्थानीय तहको चुनावमा नेकपा एमालेले उमेद्धार टुङ्गो लगाएको छ । मेयर पदका लागि पार्टी नगर अध्यक्ष यामकुमार सुब्बा र उपमेयरमा थारु जातिको बाहुल्यता रहेको इटहरीमा ४५ वर्षीय सङ्गीता चौधरीलाई पार्टीले टिकट दिएको छ । 

को हुन् सुब्बा?

मेयरका उमेद्धार सुब्बाको जन्म ताप्लेजुङ जिल्लामा भएको थियो । जन्म पहाडी जिल्लामा भएकाले उनको राजनीतिक यात्रा तराईको सुनसरी जिल्लाबाट भएको हो । उनले इटहरीको राजनीतिमा टोल कमिटीबाट २०५७ सालमा सुरु गरेका थिए । २०५७ सालमा तत्कालीन इटहरीको वडा नम्बर एकको बिपी चोक क्षेत्र पर्ने ३ नम्बर टोलको सचिव भएर काम गरेका थिए । टोल कमिटीबाट उनी क्रमशः वडा कमिटी सदस्य, वडा कमिटी सचिव, नगर कमिटी सदस्य हुँदै २०६६ सालमा इटहरी नगर सचिव बने ।

उनले लगातार दुई कार्यकाल २०६९ सम्म सचिव चलाए । त्यसपछि २०६९ देखि सुब्बा इटहरी एमालेको अध्यक्ष बने । इटहरी नगरपालिका हुँदै अध्यक्ष भएका सुब्बा पुनः२०७१ मा इटहरी उपमहानगर बनेपछि पुनः एमाले अध्यक्षमा चयन भए । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा दाबी गरेका उनले टिकट पाउन सकेनन् । पार्टीभित्र कुशल, सक्षम, इमानदार नेतृत्वको क्षबि बनाएका सुब्बा केही समयअघि भएको एमालेको अधिवेशनले पुनः सुब्बालाई इटहरी उपमहानगरको अध्यक्ष बनाएको थियो ।

कोशीप्रेससगँ कुरा गर्दै सुब्बाले भने ‘अहिलेसम्म तीन कार्यकाल इटहरीको अध्यक्ष भएछु । अब पार्टी भन्दा माथि उठेर जनताको सेवा गर्ने अवसर पार्टीले नै दिएको छ । यसलाई सदुपयोग गर्छु ।’

को हुन् सङ्गीता चौधरी ?

छोटो समयमा विभिन्न सामाजिक सङ्घसंस्था काम गरेर चिनिएकी हुन् सङ्गीता चौधरी । इटहरी १५ घर भएकी चौधरी सोही ठाउँको पडरियामा रहेको बाल आदर्श विद्यालयकी संस्थापक हुन् । त्यो क्षेत्रकै नामी विद्यालयमा उनको व्यवस्थापकीय नेतृत्व अहिलेसम्म जारी छ । उनका श्रीमान् शिवनारायण चौधरी प्राचार्य भएको निजी विद्यालयको व्यवस्थापकीय र लेखाको नेतृत्व सङ्गीता गर्छिन् ।

थारु समुदायमा कम पढ्ने तथा छोरीले पढ्नै हुन्न भन्ने विश्वासलाई चिर्दै उनले इटहरीकै जनता बहुमुखी क्याम्पसमा स्नातक समेत उत्तीर्ण गरेकी छिन् । सामाजिक सेवामा रुचाउने उनी ४५ वर्षको उमेरमा इटहरी उपमहानगरको उपमेयर पदमा उमेद्धार बनेकी छिन् । उनले इटहरी १६ को ऊर्जा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दुई कार्यकाल अध्यक्ष भई सकेकी छिन् । उनी राजनीतिक रूपमा नेकपा एमालेको महिला सङ्गठनमा सक्रिय छिन् । उनी अखिल नेपाल महिला सङ्घ इटहरीको सहसचिव हुन् । यस्तै वडा नम्बर १५ को उनी इन्चार्ज पनि हुन् ।

 टिकट पाएपछि उनले कोशीप्रेससगँ भनिन् ‘पार्टीले दिएकी जिम्मेवारी पुरा गर्छु अवसरलाई जनताको सेवामा लगाउँछु ।’