झापा / झापामा काङ्ग्रेसले सातवटा नगरपालिकाका प्रमुखको उम्मेदवार टुङ्गाे लगाएको छ । काङ्ग्रेस झापाको सिफारिस अनुसार प्रदेश १ समितिले झापाका सबै पालिकाको उम्मेदवारको टुङ्गो लगाएको हो ।काङ्ग्रेस प्रदेश १ सदस्य उत्तमबहादुर चौँलागाईँका अनुसार गाैरादह नगरपालिका प्रमुखमा राेहितकुमार साह उम्मेदवार बन्ने भएका छन् । उनी यसअघि पनि निर्वाचित नगर प्रमुख हुन् । शिवसताक्षीमा पर्शुराम ढुङ्गाना,कनकाई रूद्र चिमरिया उम्मेदवार बनेका छन् । ढुङ्गाना ०७४ को निर्वाचनमा पराजित उम्मेदवार हुन् । चिमरिया कनकाई – ३ का निर्वाचित वडाध्यक्ष हुन् ।बिर्तामाेड भाेजराज सिटाैला, अर्जुनधारा रन्जिता कार्कीले टिकट पाएका छन् । सिटौला बिर्तामोड-३ का निर्वाचित वडाध्यक्ष हुन् । उनी बिर्तामोड काङ्ग्रेस सभापतिसमेत हुन् । कार्की काङ्ग्रेस प्रदेश १ सदस्य हुन् ।

भद्रपुरमा गणेश पाेखरेल र मेचीनगर नगरपालिकाको प्रमुखमा केशवराज पाण्डेले टिकट पाएका छन् । पोखरेल झापा ३ का काङ्ग्रेस क्षेत्रीय सभापति हुन् । उनी ०७४ को निर्वाचनमा भद्रपुरको प्रमुखमा पराजित भएका थिए । पाण्डे काङ्ग्रेस झापाका उपसभापति हुन् । काङ्ग्रेसले कनकाईको उपप्रमुखमा कविता बस्नेतलाई उम्मेदवार बनाएको छ । उनी ०७४ को चुनावमा उपप्रमुख हारेकी व्यक्ति हुन् । दमकमा रेगिना भट्टराई प्रसाईंले उपप्रमुखको टिकट पाएकी छन् । उनी काङ्ग्रेस प्रदेश १ सदस्य हुन् ।