स्थानीय तह निर्वाचनमा भागवण्डाका लागि पटक पटक बसेको बैठक निष्कर्ष बिहिन बनेपछि मोरङमा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ । मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि सहमति नभएपछि गठबन्धन नहुने अवस्था सृजना भएको हो । यद्धपि स्थानीय तहहरुमा गठबन्धनका लागि नेताहरुले छलफलको प्रयास गरिरहेका छन् ।
नेपाली काङ्ग्रेस मोरङ सचिव मोदराज घिमिरे गठबन्धनका लागि स्थानीय तहबाटै प्रयास भइरहेको बताए । जिल्ला तहबाट गठबन्धन हुने सम्भावना टरेको उनले बताए । मोरङको लेटाङ नगरपालिकामा भने नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेति गठबन्धनका नाममा नेपाली काङ्ग्रेसले धोका दिएको बताउँछन् ।
काङ्ग्रेसका कारण गठबन्धन नहुने अवस्था आएपछि मोरङका दुई पालिकामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले छुट्टै गठबन्धन गरेका छन् ।
सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा गठबन्धन गरेका हुन् । जसपाको प्रभाव क्षेत्र रहेका दुई पालिकाको प्रमुख जसपाले पाएको छ । उपप्रमुख र उपाध्यक्ष माओवादीले पाएको छ ।
गठबन्धन नहुने अवस्था आएपछि काङ्ग्रेस र माओवादी केन्द्रले सबै पालिकामा उम्मेदवारी दर्ताको तयारी गरेको छ । गठबन्धनका लागि मनोनयन फिर्ताको समयसम्म प्रयास गर्ने दुबै दलका नेताहरुले बताए ।


