विराटनगर| नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयर पदमा नागेश कोइरालालाई अघि सारेको छ।  पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ। 

 

विराटनगरमा कुरा नमिल्दा कांग्रेसले महानगरपालिकाको उम्मेदवारी टुंग्याउन ढिलाई गरेको थियो।  विराटनगरको प्रमुखमा डा. कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिएका थिए।  यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नाम अघि सारेका थिए।

 

महानगरको प्रमुखमा उम्मेदवारका लागि टिकट पाएका नागेश मोरङ कांग्रेसका उपसभापति हुन्।   उनी १३ औँ महाधिवेशनमा  जिल्ला सचिव चुनिएका थिए । नागेशले  पार्टीका कोषाध्यक्ष  रहेर समेत काम गरिसकेका छन्।