​​​​​​​नेपाली काङ्ग्रेसका तर्फबाट झापाको मेचीनगरमा प्रमुख पदका लागि उम्मेदवारी दर्ता गर्ने विषयमा विवाद भएको छ । मेची नगरपालिकामा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका ईन्द्रबहादुर बुढाथोकीको फाइल केशवराज पाण्डेले खोसिदिएका थिए ।

उक्त फाइल पुष्पराज पौडेलले बोकेका थिए । त्यसपछि उनीहरूबीच भनाभन भएको थियो । भनाभनबीच बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेले बुढाथोकीलाई लुकेर उम्मेदवारी दर्ता गराउन आएको र पार्टीको उम्मेदवार भागेर उम्मेदवारी दर्ता गराउन आउँदैन भनेपछि बुढाथोकीले उम्मेदवारी दर्ता गराउन पाण्डेलाई चुनौती दिएका थिए ।


उनले पाण्डेलाई आफू लुकेर आएको भए पार्टीले आफूलाई कारबाही गरेर निकाल्ने जवाफ फर्काएका थिए । काङ्ग्रेस प्रदेश १ समितिले आइतबार पाण्डेलाई उम्मेदवार घोषणा गरेको थियो । हिजो राति नै  पार्टी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको थियो । बुढाथोकी आधिकारिक उम्मेदवार भएको पत्र काङ्ग्रेस  सभापति  शेरबहादुर देउवाले सोमबार बिहान बुढाथोकीलाई दिएका थिए । 

सभापति देउवाले हस्ताक्षर गरेको पत्रमा  निर्वाचन कार्यालय मेचीनगरलाई सम्बोधन गरिएको छ । काङ्ग्रेस झापाका उपसभापति पाण्डेलाई नेता कृष्णप्रसाद सिटौला र झापा १ का क्षेत्रीय सभापतिलाई महामन्त्री विश्वप्रकाश शर्माको समर्थन छ । विवाद भएपछि महामन्त्री शर्माको पक्षमा सभापति देउवाले आधिकारिकता प्रमाणित गरिदिएका हुन् । मेचीनगरको विषय नेता सिटौला र शर्माको प्रतिष्ठाको इस्यू बनेको छ ।