लेटाङ । मोरङको लेटाङ नगरपालिकामा नगर प्रमुखको उम्मेदवारको विषयलाई लिएर नेपाली कांग्रेस भीत्र भाँडभैलो मच्चिएको छ । पार्टीले ज्ञानेन्द्र ढकाललाई नगर प्रमुख पदको उम्मेदवार बनाएपछि असन्तुष्ट समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका लेटाङ ९ जाँते निवासी इन्द्रबहादुर मावोहाङले नेपाली कांग्रेस पार्टीले आफ्नो अवमूल्यन गरेको भन्दै स्वतन्त्रबाट नगर प्रमुख पदमा उम्मेदवारी दिनु भएको हो ।

पार्टीले निवर्तमान नगर प्रमुख शंकर राईलाई नै पुनः टिकट दिने धेरैको अनुमानकाबीच भूगोलमा खासै नचिनिएका ढकालले टिकट ल्याएपछि लेटाङ कांग्रेसमा असन्तुष्टि चुलिएको हो । दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने क्रममा नै नगर प्रमुख पदका उम्मेदवारको समर्थन र विरोधमा चर्को नारावाजी भएको थियो । त्यसबेला झडपको अवस्था सिर्जना हुन खोजेपनि प्रहरीले साम्य पारेर थप सुरक्षा फौज तैनाथ गरेको थियो ।
उम्मेदवार ढकालले उम्मेदवारी
दर्ता गरिरहँदा समेत सुरक्षाकर्मीको उपस्थिति निकै बाक्लो थियो । दिउँसो नेकपा एमालेले उम्मेदवारी दर्ता गरेकोमा अपरान्ह ४ बजेपछि नेपाली कांग्रेस लगायत गठबन्धन दलले उम्मेदवारी दर्ता गराएका थिए ।

लेटाङमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् भने नेकपा एमाले एक्लै मैदानमा उत्रिएको छ । कांग्रेले उपप्रमुख र १० जना वडासदस्य माओवादी केन्द्रलाई दिएको छ । यस्तै गठबन्धनको एउटा दल एकीकृत समाजवादी भने गठबन्धनमा सहमति नजुटेपछि एक्लै चुनावी मैदानमा छ । यस्तै लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपा लगायतका दल पनि चुनावी मैदानमा छन् ।

नेपाली कांग्रसमा विवाद चुलिरहँदा यता नेकपा एमालेमा भने कुनै विवाद देखिएको छैन । नेकपा एमालेले प्रमुख, उपप्रमुख लगायत सबै वडाका वडाध्यक्ष र सदस्य पदमा एकढिक्का भएर उम्मेदवारी दिएको छ । त्यसैपनि पछिल्लो समय लेटाङमा निकै शक्ति बढाएको एमालेलाई कांग्रेसमा देखिएको कलहले जितका लागि सहज बनाइदिएको छ । एमालेले प्रदेश कमिटी सदस्य भूपेन्द्र लावतीलाई नगर प्रमुख र कृष्णकुमारी निरौलालाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।



