इटहरी | मोरङमा चार हजार तीन सय ६१ उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । जिल्लाभित्र रहेका एक महानगरपालिका, आठ नगरपालिका र आठ वटा गाउँपालिकामा आइतबार र सोमबार कुल आठ सय २९ विभिन्न पदका लागि चार हजार तीन सय ६१ जनाले उमेद्वारी दर्ता गराएका हुन्।
मोरङमा एक महानगर र आठ नगरपालिकाका मेयर पदका लागि ८६ जनाको उम्मेद्वारी परेको छ भने उपमेयरमा ७७ जनाले उमेद्वारीदिएका छन्। यसैगरी आठवटा गाउँपालिका अध्यक्षका लागि ६३ जना र उपाध्यक्षमा ५२ जनाले उमेद्वारी दर्ता गराएका छन्।
निर्वाचन कार्यालय मोरङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि एक हजार एकजना, महिला वडा सदस्यमा सात सय ५४ जना, दलित सदस्यमा ६ सय ९६ र खुला सदस्य पदमा एक हजार ६ सय ३२ जनाले उमेद्वारी मनोनयन गराएका छन्।
मोरङमा एक महानगरपालिकासहित आठ नगरपालिका र आठ गाउँपालिकामा १७ मेयर र अध्यक्ष अनि १७ उपमेयर र उपाध्यक्षसहित एक सय ५९ वडाध्यक्ष र ६ सय ३६ वडा सदस्यसहित जम्मा आठ सय २९ जनप्रतिनिधि निर्वाचित हुनेछन्।


