काठमाडौं । स्थानीय तहको निर्वाचनको कारण कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधवार एक सूचना जारी गर्दै वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जानकारी गराएको हो ।
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका कारण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जनालाई छनोट गर्ने योजना छ । कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने तयारी गरेको छ ।
ईपीएस अन्तर्गत अहिलेसम्म नेपालबाट ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये ३५ हजार नेपाली अझै पनि कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत रहेका छन् । नेपालबाट सन् २०१९ मा ७ हजार १ सय ३६, सन् २०२० मा १ हजार २७ र सन २०२१ मा ८ सय ३ जना नेपाली रोजगारीका लागि गएका थिए ।



