इटहरी: इटहरीमा एक दशक देखि होटल गरेका जीवन पराजुलीलाई यो वर्षको चुनावी माहोल महसुस भएको छैन। सडकमा र घरघरमा चुनावी माहोल तातेपनी होटल व्यवसायमा त्यस्तै माहोल नभएको पराजुली बताउँछन् ।

            होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा इटहरीको टुरिष्ट क्लास होटल इनटुरिष्टका संचालक पराजुलीले पछिल्ला चुनाव जस्तो कारोबार नभएको सुनाउछन् । भन्छन्, 'दोश्रो संविधानसभा देखि गत स्थानीय हुँदै प्रदेश र संघ चुनावको माहोल अर्कै थियो। अहिले छैन।' आफ्नो मात्रै होईन इटहरीका टुरिष्ट क्लासमा १५ र अरु करिब २०० होटलको यस्तो अवस्था रहेको पराजुली बताउछन् ।

              'साना होटल र चिया पसलमा कारोबार बढेको होला तर ठूलो र टुरिष्ट क्लास होटलमा त्यो छैन।" पराजुलीले साना होटल र चिया पसलमा कारोबार बढेको बताए पनि इटहरी ६ संगीत चोकको खनाल चिया पसल संचालिका ज्योतिका दाहाल खनाल भने धेरै कारोबार नभएको बताउछिन् । उनी भन्छिन् ,"अरु दिन भन्दा मनोनयनपछी केही चहलपहल त बढ्यो । तर, अघिल्ला चुनाव जस्तो व्यापार छैन।

             " इटहरीका चिनिएका ग्राफिक्स डिजाइनर प्रकाश नेपालको चुनावी अनुभव उत्तिकै निराशजनक छ। इटहरीमा बिगत एक दशकबाट ग्राफिक्स क्षेत्रमा सक्रिय तथा सुनसरी ग्राफिक्सका संचालक नेपाललाई कामको धेरै चाप छैन।


                           "चार स्टाफले काम गरिरहनु भएको छ", नेपाल भन्छन्, "गत स्थानीय चुनाव जस्तो कारोबार छैन।" आर्थिक मन्दीको असर, निर्वाचन आचारसंहिताको कडाइ  र चुनावी अभियान ढिलो सुरु भएकोले कारोबार नबढेको हुनसक्ने नेपालको अनुभव छ। पराजुली, खनाल र नेपाल मात्रै होइन इटहरीका व्यवसायीहरुले व्यापारमा "चुनाव आएको महसुस नभएको" गुनासो गरेका छन् ।

       प्रदेश १ को व्यापारीक चौरास्ता इटहरीमै व्यापार नहुनुले प्रदेशका सबै  क्षेत्रमा यस्तै प्रभाव भएको बताउँछन् इटहरीका युवा कपडा व्यापारी गोपाल श्रेष्ठ । इटहरीको वन्स रेडिमेटका संचालक श्रेष्ठ भन्छन्, "हाम्रो व्यापार प्रदेश १ का पाहाडी जिल्लामा हुन्छ। तर, अहिले राम्रो माग छैन। व्यापार छैन।"

278846791_3210993342470302_92715494121399394_n