नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले हेटौंडाको शैक्षिक क्षेत्रको विकासको लागि उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाएका छन् ।बिहीबार ‘विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार’ कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफूहरू निर्वाचित भएपछि हेटौंडामा प्राविधिक तर्फ उच्च शिक्षासहित विश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताएका हुन् । नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सहजीकरणमा भएको कार्यक्रममा मेयरका उम्मेदवार पौडेलले एमालेले हेटौंडा नगरको लागि तयार पारेको घोषणा पत्रमा समेत अभिभावक विहीन, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई सिफारिसका आधारमा मात्र नभई प्रत्यक्ष पारिवारिक अवस्था बुझेर मात्र सम्बन्धित क्याम्पसमा निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने उल्लेख गरिएको बताए ।


