नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किएका छन् । पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै पोखरेलले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए ।उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । एकीकृत समाजवादी छोडे लगत्तै उनि बिहिबार एमाले प्रवेश गरेका छन् । बुधबार काठमाडाैंमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथि रहेको पार्टी प्रवेश कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका थिए ।केही व्यक्तिको स्वार्थ पुरा गर्न कार्यकर्ताको समस्यालाई नजर अन्दाज गर्दै प्राइभेट कम्पनीमा पार्टी रुपान्तरण गरेको आरोप लगाउँदै उनले एकीकृत समाजवादी छाडेका थिए । उनले पार्टीभित्र जबर्जस्त ढंगबाट हुर्कन खोजिएको व्यक्तिवादका कारण आफूले साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएको उल्लेख गरेका थिए ।आगामी निर्वाचनमा गठबन्धनको एकीकृत समाजवादी पार्टीको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका आकांक्षी समेत रहेका पोखरेल टिकट नपाएपछि पार्टी छोडेका हुन् । हेटौंडाको मेयर पदका लागि उनको नाम सिफारिसमा पनि परेको थियो ।उनीसँगै हेटौंडाको मेयर पदमा एकीकृत समाजवादीबाट निवर्तमान उपमेयर मीना कुमारी लामाको पनि नाम सिफारिसमा परेको थियो । गठबन्धनमा भागबण्डा गर्दा हेटौंडा एकीकृत समाजवादीको भागमा परेपछि मेयर पदमा लामाको नाममा टिकट आएको थियो । पोखरेलसँगै नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्यहरु उत्तम शर्मा न्यौपाने, देवेन्द्रप्रसाद कोइराला लगायत पनि नेकपा एमाले प्रवेश गरेका छन् ।