लेटाङ । मोरङको लेटाङ नगरपालिकामा नेपाली कांग्रेसका क्षेत्रीय सल्लाहकार पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । लेटाङ नगरपालिका वडा नम्बर ८ घर भएका धन बहादुर लिम्बू आज पार्टीको बैठकका क्रममा नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । उहाँलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा सांसद् घनश्याम खतिवडा, जिल्ला किमिटी सदस्य डिल्ली विश्वकर्मा, नन्दलाल धिमाल लगायतले नेकपा एमालेमा स्वागत गर्नुभयो ।


 

स्थानीय शिवशक्ति सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका लिम्बू सो क्षेत्रको सामाजिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेर देशको भूभाग संरक्षण गर्ने काम गरेकाले सोबाट प्रभावित भएर नेकपा एमाले रोजेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण एमसीसी पास भएकाले समेत आफुलाई नेपाली कांग्रेस पार्टीप्रति वितृष्णा जागेकाले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको बताउनुभयो ।

 

पछिल्लो समय लेटाङमा नेकपा एमाले प्रतियको आकर्षण बढ्दो छ । यसअघि नेपाली कांग्रेसकै क्षेत्रीय प्रतिनिधि तथा निर्वाचित वडासदस्य, पूर्वप्रधानपञ्च लगायतका व्यक्तित्वहरु पनि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । यस्तै नेकपा माओवादी केन्द्र, खम्बुवान मुक्ति मोर्चा लगायतका दलबाट पनि दर्जनौ व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले लेटाङका अध्यक्ष कृष्णप्रसाद लुइँटेलले पछिल्लो समय लेटाङमा नेकपा एमाले पार्टी प्रतिको आकर्षण बढेको बताउनुभयो ।

 

 

नेकपा एमाले नेतृत्वकै सरकारले लेटाङको बीच भाग हुँदै मेचीदेखि कालिसम्म बन्दै गरेको मदन भण्डारी राजमार्ग निर्माण कार्य अघि बढाएको, नगर अस्पतालका लागि बजेट व्यवस्थापन गरेको, सयौं घरका फुसको छाना हटाउन केन्द्रबाटै योजना निर्माण गरि बजेट व्यवस्थापन गरेको तथा जाँते ज्यामिर सडक र न्यौपाने चोक आरुबोटे सडक कालोपत्रेका लागि काम अघि बढाएको, भुवाखोला पक्की पुल र खेरुवा खोला पक्की निर्माण लगायतका कामका लागि बजेट छुट्याएकाले पनि नेकपा एमालेको सरकारले मात्र देशमा विकास र समृद्धिको ढोका खोल्ने भन्दै एमालेप्रतिको आकर्षण बढेको उहाँको भनाइ छ ।