केराबारीः आगामी स्थानीय तहको निर्वाचनको लागि मोरङको केराबारी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी पवित्रा लिम्बूको उम्मेदवारी खारेज भएको छ ।

केराबारी– १ को महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीया लिम्बूको उम्मेदवारीमाथि दाबीविरोध परेकोमा आवश्यक छानविनपछि उम्मेद्वारी खारेज भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए । लिम्बू केराबारी गाउँपालिकाको महिला स्वयम्सेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो ।

केराबारीमा नेकपा एमालेका चार जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । अन्य तीन जनाले भने सफाइ पाएका छन् । एमालेबाट केराबारी गाउँपालिका ८ नं. वडामा वडाअध्यक्षको उम्मेदवारी दिएका ५७ वर्षीय टीकाराम चापागाई, वडा सदस्यमा एमालेबाट उम्मेद्वार बनेका २७ वर्षीय दिलबहादुर राई र महिला सदस्य उम्मेद्वार ३७ वर्षीया सन्तोषी सार्कीविरुद्ध पनि उजुरी परेको थियो ।

केराबारी गाउँपालिकामा १ सय ९० जनाको उम्मेद्वारी परेको छ ।