सुनसरी।  औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङका कारण सुनसरी–मोरङ कोरिडोरमा रहेका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ । 

कोरिडोरमा देशको निर्यातमा समेत महत्त्वपूर्ण योगदान दिने रोजगार मूलक ठुला उद्योग सञ्चालन भइरहेकोमा पछिल्लो समय  राती १२ देखी १४ घण्टा र दिउसो समेत अनिश्चित कालीन लोडसेडिङ हुँदा उत्पादन प्रक्रियामा समस्या हुनुका साथै उद्योगमा आश्रित श्रमिकहरूको रोजगारी गुम्नुका साथै माग अनुसार उत्पादन गर्न नसेपछि निर्यातमा समेत अवरोध हुन पुगेको संघले जनाएको छ । 

संघले बुधवार एक विज्ञप्ति जारी गर्दै वर्षको ३६२ दिन २४ घण्टा सञ्चालन हुने खनार स्थित रिलायन्स स्पिनिङ मिल्स बन्द हुने अवस्थामा पुगेको जनाएको हो । 

प्राधिकरणको निजी क्षेत्रको सबैभन्दा धेरै विद्युत् महसुल तिर्दै असल ग्राहकको भूमिका निर्वाह गरिरहेको मिल्स लोडसेडिङकै कारण नियमित उत्पादनमा बाध्यता बस बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको संघले अनियमित विद्युत् आपूर्तिको समस्या समाधान गर्न  लिखित आग्रह समेत गरेको छ । 

प्राधिकरणले प्रायः बेलुका ६ बजे देखी लगातार १४ घण्टा सम्म र बुधबार देखी दिउँसो पनि अनिश्चित कालिन लोडसेडिङ गर्न थालेकाले उद्योग बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

 ‘सिफ्ट  अनुसार काम नहुने, वैदेशिक ग्राहकको अर्डर सामयमा तयार गर्न नसक्दा निर्यात कार्यमा अवरोध हुने र पटक–पटक पावर अनियमितताका कारण नियमित प्रोसेसिङ्ग प्लान्टको उत्पादन प्रक्रियामा ठुलो क्षति बेहोर्नु परिरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ । 

लोडसेडिङ अन्त्य भई नियमित विद्युत आपूर्ति हुने विश्वासले मिल्समा जडान गरिएको जेनेरेटरहरु लामो समय देखी मर्मत सम्भार नभएको र इन्धनमा बढ्दो लागतका कारण सञ्चालन गर्न नसकिने अवस्थामा रहेको बताउँदै  अघोषित लोडसेडिङ नगरी नियमित आपूर्तिको व्यवस्था गर्न  संघले अनुरोध गरेको छ ।