काठमाडौं । शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले हाप्ताको पाँच दिन मात्र शेयर कारोबार हुनेगरेको छ। शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको छ।
सरकारले आगामी जेठ एकदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेकोे हो । यद्यपि, यसको औपचारिक निर्णय भने भइसकेको छैन । सेयर कारोबार समय समेत थप गर्नु पर्ने विषयमा समेत नेप्सेमा छलफल भएको छ । अहिले बजार खुलेको दिन ११ बजेदेखि ३ बजेसम्म अर्थात दैनिक ४ घण्टा सेयर बजार खुला हुने गरेको छ ।
समयावधि बढाउनु पर्ने कतिपय लगानीकर्ताहरुको सुझाव आएपनि तत्कालै लागू नहुने भएको छ । शुक्रबार कारोबार खुला गर्नका लागि भने नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले नै निर्णय गर्न सक्ने व्यवस्था छ ।


