लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिस्पर्धी दलहरूको कडा आलोचना गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । तर, घोषणापत्रमा उसले मतदातालाई आफूतिर तान्न अनेकौं आश्वासनयुक्त कार्यक्रम राखेको छ ।लोसपाले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय मान्यताप्राप्त दलहरूमध्ये नेपाली काँग्रेस र लोसपा नेपाल लोकतान्त्रिक कित्तालाई प्रतिनिधित्व गर्ने दल भएको र बाँकी चारवटा दल एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा भने कम्युनिस्ट खेमाका दलहरू भएको किटान गरिएको छ ।सो पार्टी जसपामाथि खनिएको छ । लोसपाले जसपालाई माओवादीको ‘टीम बी’ भन्दै कटाक्ष गरेको छ । ‘जसपा नेपालको राजनीतिक व्यवहार नेकपा (माओवादी केन्द्र)को बी टिमजस्तो भएकाले यो पनि एक किसिमले कम्युनिस्ट पार्टी नै हो । तर यसको सुरुवात मधेस आन्दोलनको जगमा उभिएर भएकाले यसको बारेमा थप विश्लेषण गर्न आवश्यक हुन जान्छ’, घोषणापत्रमा भनिएको छ ।जसपा मधेसी, थारु, जनजाति र अन्य अल्पसंख्यकको मुद्दा त्याग गरेकोमात्र नभएर समग्रमा मधेस–थरुहट आन्दोलनलाई नै अवमूल्यन गरेको लोसपाको आरोप छ ।काँग्रेसको नाममात्रै ठूलो
लोसपाले कम्युनिस्ट पार्टीहरू देश विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठन भएको आरोपसमेत लगाएको छ ।
महिलालाई बिहेमा ५१ हजार दिने
लोसपाले मधेसी महिलालाई बिहेमा ५१ हजार रुपैयाँ अनुदान दिने घोषणासमेत गरेको छ । स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गर्ने लोसपाले आफ्नो घोषणापत्रमार्फत जनाएको हो । यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने लोसपाको विश्वास छ । साथै महिलालाई उच्च शिक्षाका लागि प्रोत्साहन दिने घोषणा पनि लोसपाले गरेको छ । यस्तै लोसपाले प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहका लागि थप ५ हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेको छ ।
यसैगरी लोसपाले महिलाहरुलाई सार्वजनिक यातायात निःशुल्क गर्ने, रोजगारमा प्राथमिकता दिने, निःशुल्क उच्च शिक्षाको प्रबन्ध गर्नेलगायतका घोषणा पनि गरेको छ । महिलाहरुको स्वास्थ्य र जीवन बिना निःशुल्क गर्ने, छात्राहरुका लागि खेलकूद विकासका लागि विशेष खेलमैदान र प्रशिक्षणको व्यवस्था गर्नेलगायतका आकर्षक कार्यक्रम पनि लोसपाले घोषणापत्रमा समेटेको छ ।
यस्ता छन् महत्वाकांक्षी प्रतिबद्धता
लोसपाले सवल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार बनाउने, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने, निःशुल्क र व्यावहारिक सबै तहमा शिक्षा प्रदान गर्ने, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था गर्ने, कृषि सेवा विस्तार गर्ने, सिंचाइ एवम् प्रभावकारी बजार व्यवस्थापन गर्ने, चुरे जोगाउनका लागि पहल गर्ने प्रतिबद्धता गरेको छ ।
यस्तै ज्येष्ठ नागरिकलाई सम्मान र थप सुविधा प्रदान गर्ने, रोजगारमूलक, सिप विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने, खेलकूद पूर्वाधार विकास गर्ने, सडक पूर्वाधार निर्माण गर्ने, स्मार्ट सिटीको अवधारणानुरुप नगर विकास गर्ने, सहरी हरित क्रान्ति गर्ने, व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारका लागि पहल गर्ने, सामाजिक सुरक्षाको प्रत्याभूति गर्नेलगायतका विषयमा लोसपाले आफ्नो प्रतिबद्धता जनाएको छ ।


