इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ५ का भिष्म कुमार घिमिरेले नेकपा एमाले तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । २०४२ सालमा ९ कक्षामा पढ्दा देखि अनेरास्ववियूको प्रारभिक कमिटिको अध्यक्ष भएर काम गरेका उनले त्यसबेला देखि नै आफ्नो राजनितिक यात्रालाई निरन्तर्ता दिंदै आइरहेका छन् । हाल उनी इटहरी उपमहानगर वडा नं. ५ नेकपा एमालेका वार्ड कमिटि अध्यक्ष समेत हुन् ।
उनले पूर्वाधार विकास निर्माणका कामहरु समय अनुसार हुँदै जाने भएकाले आफूले उम्मेदवारी दिंदै गर्दा पूर्वाधार भन्दा पनि शिक्षा, स्वास्थ्य र युवाहरुको स्वरोजगारका विषयहरुमा बढि ध्यान दिने बताए । उद्यमी महिलाहरुलाई उद्यमशिल्तामा लगानी गर्न लगाउने र तालिम गोष्ठीको आयोजना गरेर महिलाहरुलाई सक्षम बनाउने समेत आफ्नो योजना भएको उनले बताए ।
५ नं. वडामा विगतमा ८ हजार भन्दा धेरै मतदाता रहेको र यसपालि भने बढेर ११ हजार ५२ जना मतदाता पुगेको उनले बताए । साथै ११ हजार ५२ जना मतदाताले आफूलाई मत दिएर विजयी गराउनेमा आफू विश्वस्त रहेको समेत बताए । यस अघिको निर्वाचनमा पनि वडा नंं. ५ मा १५ सय मतान्तरले आफू एमाले नै विजयी भएको प्रष्टाउँदै उनले आफूले जित्नेमा विश्वस्त रहेको बताए ।
११ हजार ५२ जना मतदाता मध्य युवाको संख्या धेरै छ । युवाहरुलाई स्वरोजगार बनाउन, वैदेशिक रोजगारमा जान नदिन ५ नं. वार्डमा उद्यमशिलताका तालिमहरु दिएर युवालाई यहि स्वरोजगार बनाएर आफ्नै वार्डमा रोजगारीको अवस्था सृजना गर्ने काममा आफूले द्रुत गतिमा अघि बढाएर लैजाने उनको योजना छ ।
‘विकास निर्माणका कार्यहरु अहिलेको जनप्रतिनिधिले पनि धेरै गरिसक्नु भएको छ । पहिलो निर्वाचन भएकाले उहाँको ध्यान पूर्वाधारमा बढि भयो तर अब म भने स्वरोजगार बनाउने विषय, स्वास्थ, शिक्षा लगायतका कुरामा ध्यान दिनेछु,’ घिमिरेले भने । यस्तै उनले इटहरी वडा नं. ५ मा लगभग अहिले ब्लक र पिच गरेर ४०/४५ किलोमिटर बाटोहरु बनिसकेको र वडाबासीहरु खासै वडा विकासमा असन्तुष्टि नभएको तर जति हुनु पर्ने थियो त्यति चाहीँ नभएको बताउँदै आफूले त्यस्ता कमीकम्जोरीलाई मध्यनजर गर्दै अघि बढ्ने अठोट व्यक्त गरे ।
‘५ नं. वार्डमा भएका लगभग सम्पूर्ण सामाजिक संस्थामा मेरो योगदान रहेको छ । सम्पूर्ण सामाजिक संस्थामा बस्नु भएका सदस्यहरुले मेरो नाम पक्कै सुन्नु भएको छ । मठमन्दिर निर्माणका कुरामा मेरो नाम पनि अंकित छ । सबैले मलाई सामाजिक व्यक्तित्व हो भन्ने परिचय उहाँहरुले नै गराउनु भएको छ । र उहाँहरुले नै मतदान गर्नुपर्ने भएको हुँदा पक्कै पनि ५ नं. वार्डबासीले अत्याधिक बहुमत दिएर विजयी गराउनुहुनेछ भन्ने मैले आशा र भरोसा राखेको छु,’ उनले भने ।
उनले अगाडि भने, ‘सम्पूर्ण ५ नं. वडाका वडाबासी दाजुभाइ, दिदिबहिनी, आमाबुबाहरु मलाई तपाईहरुको सेवा गर्ने अवसर प्रदान गरिदिनुहोस् । त्यो अवसर प्रदान गर्नलाई तपाईँहरुले मेरो पक्षमा मतदान गरिदिनुहोस् र तपाईहरुको सम्पूर्ण कामहरुमा म दत्तचित्त भएर लाग्ने छु । तपाईहरुको आत्मामा चोट पुग्ने काम गर्ने छैन, भ्रष्टाचार गर्ने छैन, तपाईँहरुलाई परेका पिरमर्काहरुमा सधैभरी साथ दिन्छु भन्ने प्रतिज्ञा गर्दछु ।’


