मोरङः  सुन्दरहरैंचा  नेकपा एमालेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले गठबन्धनलाई क्लीन स्वीप गरेर जाने बताएका छन् । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार सुन्दरहरैंचाको खोर्सानेमा भएको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वडा नम्बर १० ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामी प्रमुख र उपप्रमुख पदमात्रै जित्दैनौँ, यो नगरमा विपक्षी र गठबन्धलाई क्लीन स्वीप गरेर जान्छौँ ।’

अहिलेको एमाले बलियो र एकताबद्ध भएकाले जनताको आकर्षण पनि यही पार्टीमा भएको उनको भनाइ थियो ।

एमालेबाट मेयरमा केदारप्रसाद गुरागाई र उपमेयरमा अकली चौधरी उम्मेद्वार रहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसका शिवप्रसाद ढकाल मेयरमा र उपमेयरमा नवराज चापागाई उम्मेद्वार रहेका छन् ।