मकवानपुर — नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।मे दिवसको सन्दर्भ पारेर आइतबार हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स-रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’ उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे । ‘२४ लाख भ्याक्सिन निल्यो । अब अर्बौको औषधि खरिद हुँदैछ’उनले भने ।उनले सत्तारुढ गठबन्धन विकास गर्न नभएर सरकरा देशलाई कंगाल पार्न जन्मिएको आरोप लगाए । ‘यो सरकार खानलाई जन्मिएको हो । विकास गर्न होइन,’ ओलीले भने । सत्तारुढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको उनले बताए । ‘सरकार अझै पनि चुनाव विथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदैछ । तर, गठबन्धन चुनाव हुन नदिने बहाना खोजिरहेको छ ।’
उनले संविधानअनुसार दुई महिना अगाडि फागुनमा चुनाव हुनुपर्ने बताए । ‘गठबन्धन संविधानको पालना गर्ने सरकार भए फागुनमै चुनाव हुन्थ्यो,’ उनले थपे ।
उनले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर बढाएको विषयमा समेत व्यंग्य गरे । ‘हेटौंडाभर मन्त्रालय नै मन्त्रालय र मन्त्री नै मन्त्री देखियो । यता, हेर्यो झन्डा उता हेर्यो झन्डा,’ उनले भने ।


