इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २ मा एमालेतर्फबाट वडाअध्यक्षमा माधव कोइरालाले उम्मेदवारी दिएका छन् । वडाबासीको अनुरोधमा आफूले उम्मेदवारी दिएको उनले बताए । २०३६ सालमा नेकपा एमालेको समन्वय कमिटि गठन भएदेखि नै कोइरालाको घर राजनितिक सेल्टरको रुपमा रहेको थियो । विभिन्न राजनितिक नेताहरु कोइरालाको घरमा बस्ने गर्दथे । सोही क्रममा मदन भण्डारीले समेत कोइरालाको घरमा सेल्टर लिएका थिए । त्यहीबाट प्रभावित भएर कोइराला राजनितिमा लागेका हुन् ।

कोइरालाले २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर राजनितिक अभियानमा लाग्ने क्रममा आफू ११ दिन हिरासतमा समेत बसेको बताए । उनले नेकपा एमालेसंग आवद्ध हुँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूको विभिन्न पदमा रहेर काम गरे । विराटनगरको स्नातकोत्तर पढ्ने क्रममा क्याम्पसमा स्ववियूको सचिव पदमा रहेर उनले काम गरे । त्यसपछि पढाई सकेर घरमा आएर खेतिपाति गर्दै सामाजिक रुपमा सक्रिय रहे उनी ।

उनी तालतलैया संरक्षण समितिको सचिव रहेर काम समेत गरे । आफूले शान्तिनगर सामुदायिक बनमा पनि काम गरेको र त्यसमा महत्वपूर्ण योगदान दिएको उनले बताए । विभिन्न बाटाघाटा, उपभोक्ता समिति र सेरा खोलाको पुलहरु निर्माण गर्ने सहितका कामहरुमा उनी सक्रिय बने । त्यससँगै उनले राजनितिलाई पनि निरन्तरता दिंदै गए । राजनितिमा निष्ठा पूर्वक लागेका कारण उनलाई अहिले नेकपा एमालेले यस वडाको वडाध्यक्ष पदमा अघि सारेको छ । 

उनले भने, ‘मैले वडाध्यक्षमा जित हात परे भने म पार्टिले दिएको निर्देशन अनुसार पार्टिले घोषणा पत्रमा उल्लेख गरेका कुराहरुलाई प्रतिबद्धताका साथ पालना गर्ने छु ।’ 
 
उनले यसभन्दा अघिका वडाअध्यक्षले पनि वडाको विकासका लागि धेरै कामहरु गरेको बताउँदै भने, ‘वार्ड नं. २ मा खेतिपाति धेरै थियो अहिले शहरीकरणमा विकास हुँदै गएको छ । तीब्र रुपमा जनघनत्व बढिरहेको छ, त्यसलाई व्यवस्थापन गर्नुपर्ने एउटा चुनौति छ । उक्त चुनौतिमा यो भन्दा अघिको वडाध्यक्षले धेरै राम्रो काम गर्नु भएको छ ।’
 
उनले शिक्षा, स्वास्थ्य जीविको पार्जनको लागि रोजगारको व्यवस्थाको लागि सधै लागी परिरहने बताए । विज्ञ समूहहरु संग छलफल गरेर शिक्षामा सुधार ल्याउने प्रतिबद्धता जाहेर गरे । 
 
उनले भने, ‘युवा भनेको उपयोग र दुरुपयोग गर्ने चिज हैन । युवालाई सहि ठाउँमा सदुपयोग गर्नुपर्छ । युवाको लागि के काम गर्नुपर्छ भन्ने कुरा पनि हाम्रो पार्टीले लिएको निति लक्ष्य अवलम्बन गर्दै अघि बढ्ने छु ।’

उक्त वडामा नेकपा एमालेको बहुमत भएको जनाउँदै उनले भने, ‘मेरो पार्टी संगठन एकदम मजबुत छ यसअघि पनि नेकपा एमालेले नै जितेको हुनाले मैले पनि जित्छु भन्नेमा म विश्वस्त छु । साथै म यहीँ ठाउँमा जन्मिएको र यहाँको जनभावना प्रत्यक्ष बुझेको, यहाँको वडाबासीहरुले पनि मलाई राम्रो संग पहिचान गर्नु भएको छ । उहाँहरुको सुझाव अनुसार काम गर्ने छु । उहाँहरुले मलाई विश्वास गर्नु भएको छ त्यही भएर म विश्वस्त छु । सुर्य चिन्हमा भोट दिएर सम्पूर्ण हाम्रो वडा सदस्य, मेयर, उपमेयरहरुलाई विजयी गराइदिनुहुन वडाबासीमा हार्दिक अनुरोध गर्दछु ।’