धनकुटा : चालिसको दशकमा तत्कालिन सरकारको विरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो । दलहरु खुल्ला राजनीतिमा आउन सकिरहेका थिएनन् । दलका प्रभावशाली नेताहरु जेलमा हुँदा गाउँगाउँबाट जनजागरण ल्याउन सबै दलका युवाहरु सक्रिय भएका थिए । तिनै पंक्तिमा थिए धनकुटा चानुवाका दीपक बुढाथोकी ।
धनकुटामै शक्तिशाली शासकको अड्डा थियो । पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन । रातिराति संगठन विस्तारगर्दै आफ्नो विचारमा सर्वसाधारालाई समाहित गर्न उनि छिमेकी गाउँ मारेक कटहरे, डाडागाउँ लेगुवालगाएतका टोलटोल पुग्थे ।
२०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा संगठनको नेतृत्व संहालेका उनि जिल्ला तहका नेताहरुको आँखामा परेका थिए । पञ्चायतका हस्ति एवंम तत्कालिन प्रधानमन्त्रीसमेत भइसकेका सुर्यबहादुर थापा जस्ता शक्तिशाली नेतालाई चुनावमा जितेर नाम कमाएका कम्युनिष्ट नेता गोपाल गुरागाईको नगरमा उतिबेलै परिसकेका थिए ।
२०४६ सालको आन्दोलन सहरकेन्द्रितमात्र थिएन । गाउँबाट आन्दोलनको ज्वारभाटा उठिरहेको थियो । दीपक त्यहि आन्दोलनलाई जिल्लाको उत्तरीसीमानामा रहेको भोजपुर र संखुवासभा जोडिएको गाउँ चानुवाको नेतृत्वमा होमिए । गाउँतहदेखि जिल्लासम्मको आन्दोलनको मोर्चा सम्हाले ।
लगातार दुइ पटक गाविस अध्यक्षमा निर्वाचित
जनआन्दोलन सफल भइ प्रजातन्त्र पुनस्र्थापना पश्चात भएको पहिलो निर्वाचनमा बुढाथोकीलाई तत्कालिन चानुवा गाउँ विकास समितिको नेतृत्वका लागि पार्टीले टीकट दिनेभयो । ‘२५ वर्षको उमेरमा सबैको मत जीत्नु सामान्य कुरा थिएन ।’ चालिसको दशक सम्झिंदै उनले भने ‘६ वर्षदेखि गाउँमा काम गरेको अनुभव थियो । मलाइ जनताले पत्याउनहुन्छ भन्ने दृढ विश्वास थियो ।’
प्रजातान्त्रिक शक्तिको बाहुल्य भएको ठाउँमा कम्यूनिष्ट गढ बनाउनु सामान्य थिएन । उनले अथक प्रयास गरे । पार्टीले पत्यायो । नभन्दै उनले भारीमतले विजयी भए । युवाअवस्थामै गाविसको अध्यक्ष पदमा निर्वाचित उनलाई गलत काम गर्ने छुट थिएन । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका उनलाई पार्टीले दोस्रो कार्यकालका लागि पनि सोहि पदमा टीकट दियो । उनले दोस्रो कार्यकाल पनि चुनाव सहजै जिते ।
यसरी दशवर्ष गाविसको नेतृत्व गर्दा उनले सीमित बजेटको भरमा जनताका तत्कालिन आवश्यता परिपूर्ती गर्न चुनौती थियो । यद्धपी जनश्रमदानमा अधिक काम भए । अधिकांश कृषि पेशामा आवद्ध रहेका जनताका समस्या सम्बोधन गर्ने प्रयास गरे । सडक, विजुली र अत्यावश्यक पूर्वाधारको अभाव रहेता पनि त्यसका लागि स्रोत जुटाउन उनि लागिरहे । माओवादी दन्दमा गाउँ नछाडी निरन्तर जनताको काममा खटिरहँदा उनलाई माओवादीले अपहरणसमेत गर्यो । पछि सम्मानजनक रुपमा घर फर्काइदिएको थियो ।
तेस्रो पटक जनअनुमोदका लागि चुनावमा
लामो समय स्थानीय तह जनप्रतिनिधिविहिन भयो । त्यो बेला स्वयमसेवी भावले निरन्तर जनताको काममा लागि रहका उनलाई २०७४ सालको निर्वाचनमा कार्यकर्ताबाट सिफारिस भएपनि चुनावमा टीकट पाउन सकेनन् । एमालेको कार्यकर्ताको रुपमा इमान्दारपूर्वका जनताको काममा जुटिरहे । तत्कालिन चानुवा गाविससहित डाडागाउँ, मारेक कटहरे, लेगुवा, अर्खौले जीतपुर र मूर्तिढुंगा गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिकाको नेतृत्वका लागि आतुर छन् ।
संविधान बनेपश्चात पहिलो कार्यकायलमा आएका जनप्रतिनिधिबाट स्थानीय तहका काम गर्ने जग बसेको छ । दोस्रो कार्यकायलका लागि उनै बुढाथोकीलाई पार्टीले विश्वासका साथ महालक्ष्मी नगरपालिकाको मेयरका लागि टीकट दिएको छ । स्थानीय तहको दुइ चुनावमा निर्वाचित उनी तेस्रो पटक जनअनुमोदनका लागि चुनावी मैदानमा छन् । महालक्ष्मि नगरपालिकाका घरघरका मतदातासामु पुगिरहेका छन् ।
गाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल नेकपा एमाले प्रदेश एक कमिटीको सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान व्यक्तिका रुपमा परिचित छन् । ‘कठिन परिस्थितिमा पनि नडगमगाइ पार्टी र जनतासामु लगनशिल भएर काम गर्नु नै वहाँको विशेषता हो ।’ बुढाथोकीका राजनीतिक गुरुसमेत रहेका कम्यूनिष्ट नेता गोपाल गुरागाई भन्छन् – ‘वहाँलाई युवाअवस्थादेखि चिन्छु । यो पटक पुनः जनताले जीताउनेछन् भन्नेमा ढुक्क छु ।’
जनतालाई अनुभुत हुने काम गर्छु
यसअघि महालक्ष्मीसहित सातै पालिकामा नेकपा एमालेले जीतेको थियो । बुढाथोकीले अघिल्लो कार्यकालमा थालिएका काम सम्पन्न गर्दै जनताले प्रत्यक्ष अनुभुत गर्ने काममा आफ्नो लगाव रहेने बताएका छन् । ‘मसँग दुइ कार्यकाल जनप्रतिनिधि भएर काम गरेको अनुभव छ । जनताको आवश्यकता र अवस्थाप्रति जानकार छु ।’ उनले भने ‘म जनतालाई पुरा नहुने सपना देखाउँदिन । नेकपा एमालेको इमान्दार कार्यकर्ता भएको नाताले सर्वसाधारणको जिवनस्तर उकास्ने काममा मेरो ध्यान हुनेछ । ’
बुढाथोकीसंग सत्तारुढ गठबन्धन उमेदवार एवंम तत्कालिन महालक्ष्मी २ का वडाअध्यक्ष ध्रुव राय चुनावी प्रतिस्पर्धामा छन् । राय नेपाली काँग्रेसकातर्फबाट वडाअध्यक्षमा निर्वाचित बनेका थिए ।



