इटहरी : सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई सत्तारुढ दलका केही नेता तथा कार्यकर्ताले आफ्नो लोकप्रियता बढाउने माध्यम बनाएको आरोप लागेको छ। घटनाको गम्भीरतालाई आत्मसात् गर्दै निष्पक्ष छानबिन अघि बढाउनुको सट्टा यसलाई राजनीतिक स्टन्ट र व्यक्तिगत प्रचारप्रसारको विषय बनाइएको भन्दै स्थानिय बलराम मेहताले गुनासो गरेका छन्। घटना भएको लामो समय बितिसक्दा पनि सत्यतथ्य छानबिनका लागि कुनै आधिकारिक न्यायिक समिति गठन गर्न गम्भीर पहल नभएको स्थानीयको भनाइ छ।
पीडित पक्षलाई न्याय दिलाउने र घटनाको वास्तविकता सार्वजनिक गर्ने आवश्यक कदम चाल्नुको सट्टा सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरू बयानबाजी र सामाजिक सञ्जालमार्फत चर्चा बटुल्नमै केन्द्रित रहेको आरोप उनीहरूको छ। स्थानीय नागरिक समाज र बुद्धिजीवीहरूले घटनाको निष्पक्ष तथा गहिरो छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक समिति गठन गर्न जोडदार माग गरेका छन्। राजनीतिक दबाब र प्रभावका कारण सत्य तथ्य ओझेलमा पर्न सक्ने आशंका व्यक्त गर्दै उनीहरूले दोषीलाई कानुनी दायरामा ल्याई घटनाको वास्तविकता सार्वजनिक गर्न प्रशासनसँग आग्रह गरेका छन्।
तर, जिम्मेवार निकाय र सत्तारुढ दलका नेताहरूले यस विषयमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै आम नागरिकले घटनालाई राजनीतिक स्वार्थपूर्तिको साधन बनाइएको टिप्पणी गरेका छन्। उनीहरूले निष्पक्ष छानबिन समिति गठन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।


