इलाम। इलामको माईजोगमाई गाउँपालिका–२ मा विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउँदा ११ वर्षीय छोरा आहान खत्रीको मृत्यु भएको छ। छोराको मृत्यु भएपछि उहाँकी आमा ३५ वर्षीया अमृता लाप्चा खत्रीले पनि आत्महत्या गर्नुभएको छ। गुल्मी जिल्ला स्थायी घर भएका आहान पछिल्लो ८–९ वर्षदेखि माईजोगमाई गाउँपालिका–२ स्थित मामाघरमा आमासँग बस्दै आउनुभएको थियो। सोमबार विद्यालयबाट घर फर्कने क्रममा स्थानीय बजुर खोलाले आहानलाई बगाएको थियो। छोराको मृत्यु भएपछि आमा अमृताले आत्महत्या गरेको बताइएको छ । घरबाट करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखको हाँगामा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा अमृता मृत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक देवीदत्त मोतेका अनुसार छोरा आहानको मृत्यु भएपछि अमृता बेपत्ता हुनुभएको थियो। खोजी गर्ने क्रममा उहाँलाई मृत अवस्थामा फेला पारिएको हो। प्रहरीले दुवै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। मृतक आहानका बुबा अनिल खत्री वैदेशिक रोजगारीमा रहेको बताइएको छ। यसैबिच, लगातारको वर्षाका कारण इलामका विभिन्न खोलामा पानीको बहाव बढेको छ। इलाम नगरपालिका–९ स्थित पुवाखोलामा मेची करिडोर (इलाम–बिर्तामोड भित्री सडक) र माईजोगमाई गाउँपालिका–४, माईबेनीस्थित तिल्केनी–सिलपुर भित्री कच्ची सडकमा डाइभर्सनमाथिबाट पानी बगेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


