इटहरी/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार रहेका उमेश सुवेदी इटहरी उप–महानगरपालिका वडा ३का पुरानो स्थानीय बासिन्दा हुन्। स्नातकोत्तर (डिग्री) अध्ययन गरेका सुवेदी पेशाले केहीअघि सम्म शिक्षण पेशामा आबद्ध थिए।
पेशामा रहँदा पनि उनी शिक्षणका अलवा सामाजिक गतिविधीमा पनि उत्तिकै सक्रिय थिए। युवा सशक्तिकरण, खेलकुद बिकासका क्षेत्र, निस्वार्थ समाजसेवामा लागेका सुवेदी हाल इटहरी ३मा लोकप्रिय फुटवल एकेडेमी तालतलैया फुटवल एकेडेमीका अध्यक्ष हुन्। उनी नेकपा एमाले निकट खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य र राष्ट्रिय तेक्वान्दो संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष समेत हुन्। सामाजिक क्षेत्रमा सक्रिय यिनै सुवेदी इटहरी ३ का जनतालाई दुख पर्दा एवं समस्या पर्दा आफै घर–घर पुगेर जनताको दुख/सुखका कुराहरु सुनिदिने, समस्याको समाधान गरिदिने काम गर्थे।

यसरी जनताको काम गर्दा सुवेदीलाई इटहरी ३ बासीहरुबाट गुनासोको चाङ्गहरु पनि आउने गर्दथ्यो। ती गुनासोहरुमा इटहरीका वनक्षेत्र, पर्यटकीय क्षेत्र, प्राकृतिक श्रोत साधनको ठुलो हिस्सा इटहरीले ३ले ओगटेको तर विकासमा स्थानीय, प्रदेश र संघीय सरकारबाट सदैब उपेक्षित पारिएको, मन्दिर, गुम्बा जस्ता पुरातात्विक सम्पदा सम्बर्धनमा स्थानीय सरकारबाट समेत बेवास्ता गरिएको जस्ता कुराहरु रहन्थ्यो। वास्तवमा यी कुराहरुले सुबेदीलाई भित्रैबाट चिन्तित तुल्याईरहेको थियो।
साँच्चै इटहरी ३ किन बिकासमा पछि पर्यो ? यहाँको स्थानीय तह हाँकेका जनप्रतिनिधीहरुले सही नेतृत्व दिन नसकेर र जनता प्रति उत्तरदायित्व वहन गर्न नसकेर पछि पारियो ? यही प्रश्नले केही समय चिन्तनमा घोत्लिएपछिको समाज बदल्ने प्रणसहितको निर्णय हो उमेश सुबेदीको वडा अध्यक्षमा उम्मेद्वारी दिने निर्णय। इटहरी ३का उत्तरी क्षेत्रको तामाङ्ग टोल, प्रगती टोलका जनताहरु सडकको दुर्गतीको कारण आज पनि ट्याक्टर, ट्रिपरको धूलोले कयौँ प्रकारका श्वासप्रश्वास सम्बन्धी रोगले ग्रसित हुनुपरेको छ।
यही भेगमा खोला ठेक्का लाग्छ, खोलाको चरम उत्खनन् हुन्छ यहाँको गिटी, बालुवा, ढुङ्गाले ठुला ठुला सडक, भवनहरु बजार क्षेत्रमा निर्माणहरु हुन्छन। तर खोला आसपासको बस्तीमा न कुनै निर्माण हुन्छ ? न पिच बाटो आउँछ न कुनै बस्तीका मानिसले रोजगारी नै पाउँछन ? समस्या यहाँनेर देख्छन सुवेदी जसले प्राकृतिक श्रोतको संरक्षण गर्छ जो श्रोतको वरिपरि बसोबास गर्छन, हो त्यही समुदायको यसमा लाभ लिने पहिलो हक रहन्छ उनी भन्छन।

सुवेदी आफु इटहरी ३को जादुमयी बिकाश गर्ने उदेश्यका साथ वडाअध्यक्ष पदमा निर्बिकल्प उम्मेद्वार रहेको र सडक दुर्गतीका कारण धुलो धुँवाको पिडामा परेका इटहरी ३का उत्तरी क्षेत्रमा बसोबास गर्नेहरुको स्वास्थ्यमा प्रतिकुल असर कम गर्न सबैभन्दा पहिला तामाङ्ग टोलको बाटो हुँदै प्रगती टोल सम्मै पिच र सबै बाटोघाटो, ड्रेन, खानेपानी र सामुदायिक बिद्यालयको गुणस्तरमा स्तरीकरण गर्ने प्रणः गर्दछन्।
वडामा यसभन्दा अगाडी नेपाली कांग्रेसका उम्मेद्वारले जितेको तर यो बितेको पाँच वर्षे कार्यकालको जनताले मुल्यांकन गर्दा जनप्रतिनिधी प्रति जनताका थुप्रै गुनासाहरु रहेको र वडामा बिकास भन्दा पनि कृषियोग्य जमिन प्लटिङ्ग धेरै भएकोले यसपाली नेपाली कांग्रेसका उम्मेद्वार गठबन्धनसहित आएपनि आफुलाई यहाँको कांग्रेस, माओवादी, राप्रपालगायत सबै पाटिमा आस्था राख्ने जनताले ३ नम्बरको बिकासको निम्ति मत दिएर बिजयी गराउने उनी बताउँछन्।
जनताको जनप्रतिनिधी माथिको बितृष्णाको कारण पनि यसपाली नेपाली कांग्रेसका उम्मेद्वारका बिरुद्ध कांग्रेसकै वडा सभापती तुलामणि लिम्बुको बागी उम्मेद्वारी परेको र यस वडामा बिभिन्न सामाजिक नेतृत्वका क्षेत्रमा तुलामणी लिम्बुको नैतिकवान छबिका कारण उनलाई यस निर्वाचनमा आफ्नो खास प्रतिष्पर्धी उम्मेद्वार सुबेदी मान्छन्। इटहरी ३का जनता शिक्षित रहेकाले यहाँको जनताले हिजोको दिनमा पनि राजनीतिक दल नहेरी उम्मेद्वारलाई बिश्वास गरि मत प्रदान गरेको र बिश्वास गरेका जनप्रतिनिधीले जनताका अपेक्षा पूरा गर्न नसकेका कारण यसपाली वडाबासीहरुले विश्वास मात्र नभई पूर्ण विवेक प्रयोग गरि आफुलाई मत दिने र त्यसको सट्टामा आफुले प्रत्येक वडाबासीले गर्व गर्न लायक समृद्ध इटहरी ३ उपहार दिने सुवेदी प्रण गर्छन्।


