मोरङ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता समक्ष राजनैतिक दल तथा स्वतन्त्रण उमेदवारहरुले समेत आफुहरु विजयी भए नगरविकासका लागि गर्ने कार्यहरुलाई समेटेर घोषणापत्र सार्वजनिक गर्ने क्रम पनि बढेको छ ।

यही क्रममा मोरङको सुन्दरहरैचा नगरपालिकामा नेपाली काँग्रेसले भौतिक विकास तथा मानवीय विकासका ९ वटा शिर्षक समावेश गरे सङकल्प पत्र सार्वजनिक गरेको छ ।

       शिक्षा खेलकुद र बालबालिका, स्वास्थ्य, कृषि उद्यम र रोजगारी, पर्यटन प्रवद्र्धन, वातवारण, सरसफाइ तथा विपद् व्यवस्थापन, सुशासन तथा सेवा प्रवाह,  प्रविधि, भौतिक पूर्वाधार, कला, साहित्य, पत्रकारिता र मानव संशाधन विकास र सशक्तिकरण शिर्षक समेटेर नेपाली काँग्रेसले सङकल्प पत्र सार्वजनिक गरेको हो ।

   १९ बिघा ७ कठ्ठा क्षेत्रफलमा नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रङ्गशाला निर्माण गरिने साथै  नगर क्षेत्रका हरैँचा, पचाम, बाघझोडा, लाटीझोडा, सुकुनामा रहेका अन्य खेलमैदानलाई स्तरोन्नति गरी रङ्गशालाको अवधारणा अनुरुपा वनाउने सङकल्प पत्रमा उल्लेख गरिएको छ ।IMG-20220502-WA0001

त्यसै गरी सुन्दरहरैंचा नगर अस्पतालको स्तरोन्नती गरी  ५० बेडमा बनाएर विभिन्न रोगका विशेषज्ञहरुबाट  सेवा सञ्चालन गर्ने साथै बीमा उपचार सहज बनाइने, अपरेशन थिएटर, सर्पदंश र पोष्टमार्टमको समेत व्यवस्था मिलाइने उल्लेख छ ।

भिडियो कलमार्फत् डाक्टरसँग परामर्श लिनका लागि मेरो डाक्टर एप्स निर्माण गर्ने तथा एक वडा एक डाक्टर, एक टोल एक नर्स उत्पादन गर्न छात्रवृत्ति उपलब्ध गराइने उल्लेख छ । ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई  लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै प्रति वर्ष १० हजार नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने उल्लेख छ ।

काग्रेसको सङकल्प पत्रमा कृषि तथा पशुपालनलाई समेत प्राथमिकतामा राखिएको छ नगरको लगानी कृषकको ल्याण्ड, केरा खेती सुन्दरहरैंचाको ब्राण्ड भन्ने नाराका साथ केरा खेतीका लागि पकेट क्षेत्र छुट्याएर काम गरीने त्यसै गरी तरकारीको लागि पकेट क्षेत्र , बाख्रा पालनका लागि पकेट क्षेत्र लगायत कृषि तथा पशुपालनमा पकेटक्षेत्र घोषणा गरेर नगरवासीलाई आयआर्जनमा लगाउने योजना अघि सारेको छ ।IMG-20220502-WA0000

बाघझोडादेखि फोकल्याण्ड टापुसम्मको जङ्गली क्षेत्रलाई जङ्गल सफारीको रुपमा विकास गरी फोकल्याण्ड टापुमा होम स्टे सञ्चालन गरिने सङकल्प पत्रमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट सुन्दरहरैचा नगरपालिकाको मेयर पदका उम्मेद्वार शिवप्रसाद ढकाल, प्रदेश उपसभापति तथा राष्ट्रिय सभाका सांसद रमेशजङ्ग रायमाझी, जिल्ला  सचिव ललित श्रेष्ठ, महासमिति सदस्य तथा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला लगायतले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेस सुन्दरहरैँचाका सभापति भक्तिप्रसाद सिटौला पूर्व जिल्ला कोषाध्यक्ष गोपाल थापा लगायतले सम्बोधन गरेका थिए ।