विराटचोकः नेकपा एमालेले सुन्दरहरैंचा नगरपालिकाका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । त्यस्तै, ५ बुँदे सङ्कल्प पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
प्रतिबद्धतापत्रमा नगरवासीले भोग्नुपरेको सेवामा ढिलासुस्ती, पक्षपात र अनियमितता तुरुन्तै रोकिने तथा हरेक कार्यालय सिसीटिभीबाट निगरानी गरिने उल्लेख छ । नगरको रिङ रोड निर्माण एवम् सुत्केरी महिलालाई ५ हजार रुपैयाँ र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई १ हजार रुपैयाँ पोषण सुविधा उपलब्ध गराइने उल्लेख छ ।
गरिबीको रेखामुनि रहेका नगरवासीलाई निःशुल्क सीप, सहकारीमार्फत् सहुलियतपूर्ण कर्जा र बीमा उपलब्ध गराई स्वरोजगार बनाउने र आम्दानी बढाउने कार्यक्रम शुरु गरिने उल्लेख छ ।
हरेक वडामा वृद्ध चौतारी निर्माण, पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन र अस्पताल पूर्ण क्षमतामा सञ्चालन, आधारभूत अस्पताल र सरुवा रोग अस्पतालका निर्माणाधीन भवन निर्माण सम्पन्न गरी सञ्चालन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
बेरोजगारको तथ्याङ्क सङ्कलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराउने र स्वरोजगार बन्न चाहनेलाई सीपमूलक तालीम दिई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिइने पार्टीले जनाएको छ । रणनीतिक योजना र गुरुयोजना तयार गरी योजनाबद्ध रुपले नगरको विकास गर्ने एमालेले जनाएको छ ।
पार्टीले शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, आधुनिक ऊर्जा, उन्नत कृषि, दिगो यातायात पूर्वाधार, एकीकृत बस्तीर योजनाबद्ध शहरी विकास, औद्योगिकीकरण र आर्थिक वृद्धि, उद्यमशीलता र रोजगारी शीर्षकमा गरिने कामको बारेमा प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
मौलिक कला र संस्कृति, सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा, समानतातर्फको महिला यात्रा, खुशी ज्येष्ठ नागरिक,सुखी बालबालिका, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, समुन्नत लोकतन्त्रको आधार, कानुनी सुधार र संस्थागत सुदृढीकरणलाई एमालेले प्राथमिकता सूचीमा राखेको छ ।


