जिल्लामा नेकपा एमालेले तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ। 

स्थानीय तह निर्वाचनको दौरानमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेको, पार्टी हित विपरीत लागेको लगायत आरोप लगाउँदै उनीहरूलाई निष्कासन गरिएको हो । भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईं पार्टी निष्कासनमा परेका हुन् । उनीहरू तीनैजना मेचीनगर नगरपालिकाका स्थानीय एमाले नेता हुन् । 

पार्टीका नगर अध्यक्ष राजु पोखरेलले बिहीबार विज्ञप्ति निकालेर उनीहरूलाई निष्कासन गरेका हुन् । मेचीनगर–२ का  वडाध्यक्षका एमाले उम्मेदवार  दिपक बराललाई हराउन लागेको आरोप उनीहरूउपर लगाइएको छ। 

उनीहरूले स्वतन्त्र उम्मेदवारको पक्षमा चुनाव प्रचार गरिरहेको पाइएपछि पार्टी विधानको धारा ८१ को उपधारा १ वमोजिम निष्कासन गरिएको विज्ञप्तिमा छ । 

मेचीनगरमा अहिले एमाले भित्र व्यापक असन्तुष्टि छ। १० महिला कार्यकाल बाँकी हुँदै प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी नगर प्रमुखको उम्मेदवार बनेपछि एमाले कार्यकर्ता रुष्ट छन् । 

सोही कारण झापा १ का एमाले इन्चार्ज डिल्लीराम घिमिरेले पार्टीको साधारण सदस्य समेत त्यागेर मेचीनगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

निवर्तमान उपप्रमुख रहेकी मिना उप्रेतीले प्रमुखमा दाबी गरेकी थिइन् । तर, बहालवाला प्रदेश सांसद बुढाथोकीलाई प्रमुखको टिकट दिएर उप्रेतीलाई उपप्रमुखमै सीमित बनाएपछि  एमाले मेचीनगरमा असन्तुष्टिको स्वर झन् चर्को बनेको छ।