विराटनगर । मोरङको बेलबारी नगरपालिकाका मेयरका उम्मेदवारको सवारीसाधनमा आगजनी भएको छ।

राप्रपाका मेयर उम्मेदवार खेमप्रसाद गौतमको घरमा राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख शान्तिराज कोइरालाले शुक्रबार बिहान करिब २ बजे आगजनी भएको जानकारी दिए।

उक्त घटनामा शंकास्पद एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डे रहेका छन् ।

आगजनीको खबर पाएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली गौतमको घर पुगेको थियो।
 
पाण्डेले पेट्रोल छर्किएर कारको अगाडि र पछाडिको भागमा आगो लगाएको सिसीटिभी क्यामेरा फुटेजमा देखिएको प्रहरीले जनाएको छ।
 
प्रहरीले सिसिटिभी फुटेजका आधारमा पाण्डेलाई नियन्त्रणमा लिएको हो।

मेयरका उम्मेदवार गौतमले राप्रपाको लहर देखेर पराजित मानसिकता भएकाहरूले सुनियोजित ढंगबाट आगजनी गराएको आरोप लगाए।