धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका जितिसकेको एमालेले दाबी गरेको छ । एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले मेयरका प्रत्याशी दीपक बुढाथोकीले जितिसकेको भन्दै घोषणा मात्रै हुन बाँकी रहेको बताए । 

‘मेयरका उमेदवार अनुभवी ब्यक्ती हुनुहुन्छ, यसअघिको कार्यकालमा पार्टीले जनताले चाहेका काम गरेको छ,’ पराजुलीले भने, ‘जनताको बिश्वास जितेको लोकप्रिय पार्टीले गरेका राम्रा काम सम्पन्न गर्न भावी नेतृत्व तम्तयार छ ।’

 मेयरका प्रत्याशी दीपक बुढाथोकीले  राजनीतिलाई पेशा नभइ समाजसेवा ठानेर जनसेवामा लाग्नुपर्ने बताएका छन ।चुनावी अभियानमा महालक्ष्मी २ का स्थानियसँग कुरा गर्दै उनले अहिले राजनीतिमा ब्यापारीप्रवृत्ति हाबी हुने जोखिम बढेको भन्दै त्यसले निष्ठाको राजनीतिमा होमिएका इमान्दार ब्यक्तिको भावनामा ठेस पुग्नसक्ने बताए । 

‘ब्यापार र राजनीतिमा आकास – जमिनको फरक छ । ब्यापारको धर्म नाफा गर्नु त राजनीतिको धर्म अरुको सेवा गर्नु हो,’ उनले भने, ‘सबै ठाउँको नेतृत्वमा राजनीतिक चेत बोकेको ब्यक्ती पुग्नुपर्छ, त्यसले मात्रै जनहितमा काम गर्छ ।’

एमालेले जितेको महालक्ष्मी नगरपालिकामा उमेदवारहरुले घरदैलो कार्यक्रम तिब्र पारेका छन् । नगरका तत्कालिन मेयर पर्शु नेपालले नगरमा पार्टीले पुनः जितिसकेको भन्दै मतदानको औपचारिकता मात्रै कुरिरहेको दाबी गरे । त्यस्तै पुनः उपमेयरको उमेदवार बनेकी मन्जु अधिकारीले पहिलो कार्यकालको अनुभवले आगामी कार्यकालमा थप जनमुखी काम गर्ने बताइन् । 

प्रदेश कमिट सदस्य टंक चुहानले एमालेले जितको झन्डा फहराइसकेको भन्दै जनमुखी काम नै पुनः जितको बलियो आधार रहेको तर्क गरे ।  

उनले मेयरका उमेदवार बुढाथोकी यसअघि दुई कार्यकाल जनप्रतिनिधिको रुपमा काम गरिसकेको र जनता माझ इमान्दार र परिचित ब्यक्ती भएको हुँदा सहज जित हुने दाबी गरे ।

एमाले प्रदेश १ कमिटी सदस्यसमेत रहेका बुढाथोकी महालक्ष्मीका पुराना कम्युनिस्ट नेता हुन् । २०४२ सालदेखि अविचलितरुपमा राजनितीमा सकृय उनी यसअघि तत्कालीन चानुवा गाबिसको अध्यक्षमा दुई कार्यकाल निर्वाचित भैसकेका छन् । 

एमालेका उमेदवारसग सत्तारुढ गठबन्धनका उम्मेद्बारहरु चुनावी मैदानमा छन् । तर, महालक्ष्मीमा सत्ता गठबन्धनका बीच तिब्र विवाद उत्पन्न भएको छ ।