इटहरी । नेकपा (एमाले) को तर्फबाट सुनसरीको इटहरी उपमहानगरपलिकाको उप–मेयर पदमा उमेदवारी रहेकी संगिता कुमारी चौधरीले आफू निर्वाचित भएपछि इटहरीबासीका लागि गर्नुपर्ने सेवामा कुनै कसरत बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । 

सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको आमसभामा बोल्नुहुँदै उनले आफूले इटहरी उपमहानगरबाट प्रदान गर्ने सेवामा अलिकति पनि खोट नराख्ने बताएकी हुन् । 

 ‘तपाइँहरुलाई म के अवगत गराउन चाहन्छु भने, हामीले विजय गरेर गइसकेपछि तपाइँहरुले पाउनुपर्ने सेवामा अलिकति पनि खोट राख्दैनौँ’, उनले  भनिन् । ‘हामी विकासका कामहरुमा, योजनाका कामहरुमा, बालबालिकाका कामहरुमा, जेष्ठनागरिकको काममा लागि जति काम गर्नुपर्ने छ त्यो सम्बन्धी काम गर्न हामी तत्पर रहेका छौँ भन्ने तपाइँहरुलाई विश्वास दिलाउन चाहन्छौँ । र, हामीले नगरमा घोषणा पत्र जारी गरेका छौँ त्यसलाई आत्मसाथ राखेर काम गर्ने छौँ ।’

महिलाका मुद्दा आफ्नो पहिला प्राथमिकतामा रहेन उनको भनाइ छ । ‘म एउटा महिला भएको कारणले गर्दा इटहरीमा महिला नेतृत्वको पनि आवश्यक छ भनेर तपाइँहरुलाई भन्न चाहन्छु’, उनले भनिन् , ‘महिलाको हकहित, अधिकारको लागि, अन्याय र हिंसामा परेका महिलालाई न्याय दिलाउनका लागि र महिलाका सम्पूर्ण समस्याहरु मुक्त गराउन काम गर्ने छु । 

इटहरी उपमहानगरलाई महिलामैत्री बनाउनका लागि आवश्यक छ ।’ यी महिलाका हक अधिकार सुनिश्चित गर्ने सवालमा एमाले अग्रणी स्थानमा रहेको उनको दावी छ । त्यसैले महिलाको अधिकार सूनिश्चित गराउनका लागि र महिलाको प्रतिनिधित्व इटहरी उपमहानगरमा गराउनका लागि आफूलाई मतदान गर्न उनले अपिल गरिन् ।