इटहरी । नेकपा (एमाले)बाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा उमेदवारी दिएका यामकुमार सुब्बाले आफूले इटहरीको कण-कण छामिसकेको वताउनुभएको छ । एमालेले इटहरीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले आफूले इटहरीको प्रत्येक ठाउँका माटोसँग सौदावाजी गरेकाले माटो-माटोले आफूलाई चिन्ने बताउनुभयो ।

‘मलाई यो इटहरीको माटो-माटोले चिन्छ । मैले त्यति पसिना बगाएको छु । त्यति दुःख गरेको छु’, उहाँले भन्नुभयो । त्यसका लागि इटहरीबासीले आफूलाई अपार सहयोग गरेको उहाँले सुनाउनुभयो । यसका साथै जनआन्दोलनको समयमा आफू कमाण्डर नै भएर व्यवस्था परिवर्तनमा भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो । राजनीतिलाई आफूले पेशा नभएर सेवाको रुपमा लिएर अघि बढेको उहाँको भनाइ छ । सोहि कारण इटहरीको माटो-माटो र चौक-चौक बारे आफू जानकार रहेको उहाँ बताउनुहुन्छ । आफूले दुःख सुखमा दौतारी गाँसेको माटोलाई बनाउन आफू तम्सिएकाले त्यसमा आफूलाई अवसर दिन उहाँले अनुरोध गर्नुभयो । ‘यो माटोले मलाई सेवा गर्न सिकाएको छ । अब मैले सेवा गर्ने अवसर पाउनैपर्छ’, उहाँले भान्नुभयो, ‘अब यो माटोलाई उर्जाशील र एउटा समृद्धि नगरिको रुपमा विकास गर्न अवसर मैले पाउनै पर्छ ।’

यस्तै अघिल्लो सरकारले गरेका अधुरा कामलाई पूरा गर्न र सुरु गरिएका कामलाई मूर्तरुप दिन पनि अब इटहरीमा एमालेको सरकार आवश्यक रहेको उहाँको तर्क छ । बितेको पाँच वर्षमा इटहरीमा एमालेको नेतृत्वमा बनेको सरकारले धेरै राम्रो काम गरेको स्मरण गराउँदै उहाँले ती कामलाई थप परिस्कृत र परिमार्जीत गर्दै लैजाने अठोट रहेको सुनाउनुभयो । ‘बाँकी केहि कामहरु छन् हामी त्यसलाई अवस्य पुरा गर्ने छौँ’, उहाँले भन्नुभयो , ‘हामीले गाउँ-गाउँमा, टोल-टोलमा नगरबासीहरुलाई यहि प्रतिवद्धता जाहेर गरेका छौँ ।’ परिवर्तन निरन्तर पक्रिया भएकाले समयसँगै विकासका कामलाई पनि परिवर्तन गर्दै लैजाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । इटहरीमा विकास र परिर्वतनको संवाहक नै एमाले भएको उहाँले दावी गर्नुभयो । जुन काम अहिलेको गठबन्धन र अन्य प्रत्यासिले पुरा गर्न नसक्ने उहाँको भनाइ छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको इटहरीमा भएको सम्बोधनले पनि आफूलाई थप उर्जा प्रदान गरेको भन्दै त्यो उर्जालाई कार्यसम्पादनमा परिणत गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । अब एमाले ‘समृद्ध नेपाल सुखी नेपाल’ नारालाई थप शसक्त ढंगले पुरा गर्ने लक्ष्यका साथ अघि बढेकाले स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा एमालेलाई विजयी गराउन उहाँले अनुरोध गर्नुभयो । साथै उहाँले प्रतिवद्धता पत्रमा उल्लेख गरेका कामहरु पुरा गरेरै छाड्ने प्रतिवद्धतासमेत जाहेर गर्नुभयो ।