इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने वताउनुभएको छ ।
इटहरीमा नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले उम्मेदवार यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताए इटहरीको बिकासमा वजेट र योजनाको कुनै खाँचो नहुने वताउनुभयो । ‘भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको,’ अध्यक्ष ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, याम सुब्बा मेरो प्रतिनिधि हो, मलाई हटलाईनमा सोझै सम्पर्क गर्नुहुन्छ, सोझै संवाद गर्नुहुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु ।’ आगामी प्रतिनिधिसभाको चुनावमा एमालेको बहुमत आउने र एमालेको सरकार बन्ने भएकाले इटहरीमा आफूले बजेट अभाव हुन् नदिने ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले द्वारिकलाल चौधरी र लक्ष्मी गौतमको कार्यकालमा इटहरीमा भएको कामको प्रशंसा गर्नुभयो । उहाँहरु अग्रमोर्चामा सरिक भएर एमाले उम्मेदवारहरुलाई जिताउन लागि पर्नुभएको जनाउदै धन्यवाद समेत दिनुभयो । इटहरीको विकासको बाँकी काम लाई अघि बढाउन, सुन्दर र आधुनिक विकसित नमूनानगर बनाउने कामको अभिभारा याम र संगीताको काँधमा आउन लागेको वताउनुभयो । उहाँले सूर्यध्वजावाहक उम्मेदवारलाई जिताउन इटहरीवासीलाई आग्रह गर्नुभयो ।


