धरानः धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा आबद्ध हुन नहुने कानुन भए पनि उनी दलसँग आबद्ध भएको पाइएको र दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउँदा निष्पक्षता माथि प्रश्न उठ्ने बताइएको छ ।

यस विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिएको थियो । तर उजुरीको विषयमा आयोग तथा जिल्ला प्रशासन कार्यालयले कुनै सुनुवाइ नगरेको एमालेले जनाएको छ ।

निर्वाचन कार्यायल धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले पोखरेलको विषयमा उजुरी परेपछि निगरानीमा राखेर काममा खटाइएको बताए ।