प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई ६७ बुँदे अपील जारी गरेको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त अपील सार्वजनिक गरेका हुन्। 

एमालेले जारी गरेको अपीलमा कांग्रेसलाई मतदान गर्ने मनस्थिति बनाएका मतदातालाई पनि आफूतिर तान्ने कोसिस गरिएको छ। 

'कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु, यसपटक नेपालको विकासका लागि, तपाइँहरुको जीवनमा सुख समृद्धि ल्याउनका लागि र 
तपाईँहरूका सन्ततिको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिन्हमा मतदान गरौं', ओलीले अपीलमा भनेका छन्। 

ओलीले नेकपा (एमाले) करिब १० वर्ष सरकारमा रहँदा नेपालको इतिहासमा पहिलो पटक मुलुकको समग्र विकास निर्माण, सामाजिक सुरक्षा, परिवर्तन र रूपान्तरण, राष्ट्रिय सामर्थ्य र प्रतिष्ठाको अभिवृद्धिलगायत क्षेत्रमा युगान्तकारी एवम् गौरवपूर्ण उपलब्धि हासिल भएको जिकिर गरेका छन्।