नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काङ्ग्रेसले देशकाे सम्पत्ति खाएकाे बताएका छन् । 

आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् ।बहुदलीय अध्यासमा आएपछिको ३२ वर्षमा नेपाली काङ्ग्रेसले २७ वर्ष शासन गरेको बताउँदै उनले काङ्ग्रेसले यो अवधिमा देशको सम्पत्ति खाएको, शासन राजालाई बुझाएको र राज्य संयन्त्रको दुरुपयोग गर्ने काम मात्र गरेको बताए ।

यस्तै ओलीले काङ्ग्रेसले आफ्नो पार्टीको नीति, कार्यक्रम र योजनाहरूलाई गफ ठान्ने गरेको पनि बताए । उनले भने, 'अचम्म त के लाग्छ भने, एमालेले ल्याएको नीति, कार्यक्रम र योजनाहरूलाई काङ्ग्रेस मजाक र गफ ठान्छ । देशको समृद्धि र जनताको सुखलाई काङ्ग्रेस कोरा सपना ठान्छ ।'

​​​​​​​अदालतले परमादेशी सरकार बनाएपछि विकास निर्माण, सुशासन, समाज रुपान्तरणको यात्रा रोकिएको उनले बताए।

यसैगरी ओलीले आफू नेतृत्वकाे सरकारले मगन्तेमुक्त सडक बनाएकाे दाबी गरे । उनले भने, ‘एमालेकाे नेतृत्वकाे सरकारले मगन्तेमुक्त सडक बनाएकाे छ । नेपाली समाजकाे परिवर्तन र रूपान्तरणका लागि एमालेले स्थापनाकालदेखि नै यी नै कुराहरूमा अडिग छ ।’