इटहरी  । नेकपा (एमाले) बाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा उमेदवारी दर्ता गराएका यामकुमार सुब्बाले युवालाई एक पत्र लेखेका छन् । 

सो पत्रमा उनले युवालाई आफूसँग समहित भएर ‘युवा इटहरी’ निर्माण गर्न आग्रह गरेका छन् । अहिलेका युवाको भोटले इटहरीको वर्तमान र भविष्यलाई निर्क्यौल गर्ने भएकाले विवेक प्रयोग गरेर भोट हाल्न अनुरोध गरेका छन् । 

पहिलो पटक मतदान गर्ने युवालाई लक्षित गरेर जारी भएको पत्रमा उनले कसैको करकाप र धाक धम्कीमा नपरि मतदान गर्न सुझाएका छन् । ‘मतदान भनेको तपाइँको संवैधानीक अधिकार हो’, उनले लेखेको पत्रमा भनिएको छ, ‘तपाइँले दिएको एक मतले इटहरीको वर्तमान र भविष्य निर्धारण हुन्छ । त्यसैले मतदान गर्दा धेरै कुरामा सचेत भई कसैको डर, धाक, धम्कि वा प्रलोभवनमा नपरी आफ्नो स्वःविवेक प्रयोग गरेर मतदान गर्नुहोला ।’

उनले सो पत्रमा आफू युवा उमेरमा नौ राजनैतिक परिवर्तनका लागि सडकमा उत्रिएको बताए। जीवनको उर्जावन युवा उमेर आफूले राजनीति र परिवर्तनका लागि समर्पित गरेको स्मरण गराउँदै उनले अब युवासँग मिलेर युवाले चाहेको इटहरी बनाउन आफू तत्पर रहेको बताए । 

‘तपाइँहरुको जस्तै उमेरको हुँदाखेरि म राजनैतिक परिर्वतनका लागि सडकमा आन्दोलनको नेतृत्व गर्थेँ’, पत्रमा भनिएको छ, ‘आज तपाइँहरुले परिर्वतनको आन्दोलन गर्नु पर्दैन तर, तपाइँ हामी मिलेर, तपाइँले चाहेको जस्तो इटहरी बनाउने एउटा नयाँ आन्दोलनको शुरुवात गर्नुछ । तपाइँ कस्तो इटहरी चाहनुहुन्छ हामी मिलेर त्यस्तो इटहरी बनाऔँ, जुन युवा इटहरी होस् ।’

उनले अन्तराष्ट्रिय ज्ञान, सोच र सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै युवालाई राजगारीका लागि विदेशीन नपर्ने वातावरण भएको इटहरी बनाउन युवासँग अपिल गरेका छन् । इटहरीलाई प्रदेश १ कै एक नम्बर बनाउन युवालाई आह्वान गरेका छन् । 

आफूसँग इटहरी बनाउन अनुभाव भएकाले युवाहरु सँग भएको ज्ञान–सिप आफूसँग ‘सेयर’ गर्न उनले अनुरोध गरेका छन् । ‘आफ्नै नगरमा आफैँले स्वःरोजगारी सृजना गर्ने वातावराण बनाउन मलाई तपाइँहरुको साथ चाहिन्छ ।

आफ्नै माटोमा पसिना बगाएर सम्मृद्द बन्ने सोच, जोश–जाँगर र प्राविधिक ज्ञान तपाइँहरुसँग छ । म सँग अनुभव छ । आउनुहोस् अब तपाइँ हामी मिलेर एउटा अभूतपूर्व इटहरीको निमार्ण गरौँ । प्रदेश नं. १ को इटहरीलाई नं. १ नगर बनाऔँ । त्यसको लागि हामी मिलेर एउटा संकल्प गरौँ’, सो पत्रमा भनिएको छ ।