इटहरी । इनरुवा नगरपालिकामा माओवादी पार्टीबाट उपमेयर पदको उम्मेदवारी दिएका ओके दाहालले इनरुवाको मुहार बदल्ने योजना आफूसँग रहेको बताएका छन् ।
दुई दशक लामो संघर्षमय राजनीतिक जीवन बिताएका दाहालले इनरुवालाई विकसित, व्यवस्थित बनाउने योजना आफूसँग रहेको बताएका छन् । उनले इनरुवावासीले आफूलाई मन पराएको र जित नजिक रहेको समेत दावी गरेका छन् ।
इनरुवामा उपमेयरसहित ३ वटा वडा जित्ने योजनामा आफ्नो पार्टी रहेको उनले बताएका छन् । कांग्रेस भित्रको अन्तरविरोध, गलत उम्मेदवार चयन, एमाले भित्रको गलत नेतृत्वको छनोट, जातिय सन्तुलनको असमझदारीलगायतका कारणले सबैभन्दा योग्य उपमेयर उम्मेदवार आफू नै रहेको उनले बताए ।
उनले आफूले चुनाव जितेमा सुकुमबासीको समस्या, सुनसरी खोला र कटानको समस्या, किसानको समस्या सामाधानलाई पहिलो प्राथमिक्ता दिने बताए । उनले सही किसानको पहिचान गरेर बिउविजन, मल वितरणलाई सहज बनाउन किसानकै सहकारी खोलेर वडा वडामा वितरण केन्द्र बनाउने बताए ।
उनले शिक्षा सम्बन्धि ऐन बनाएर बोर्डिंङका शिक्षकहरुलाई नियुक्ति दिने र श्रम ऐन अन्तर्गतको पारिश्रमिक वितरण गर्ने व्यवस्था मिलाउने दावी गरे ।
उनले इनरुवामा लामो समयदेखि हुँदै आएको भ्रष्टाचार हटाउनका लागि विशेष योजना ल्याउने उनले बताए । नागरिक समाज, पत्रकारलाई पनि कमिटीको सदस्य बनाएर अनुगमनलाई पारदर्शी बताउने बताए ।
को हुन् दाहाल ?
३६ सालमा खोटाङमा जन्मिएका दाहालले उच्च शिक्षाका लागि आरआर क्याम्पस काठमाडौंमा अध्ययन गर्ने क्रममा ५६ सालबाट अखिल क्रांतिकारी विद्यार्थी संगठनमा सक्रियता जनाएका थिए । उनी राजनिति गर्ने क्रममा माओवादी पार्टीसँगै २०५८ सालबाट भूमिगत भए । त्यसपछि खोटाङ जिल्ला कार्यक्षेत्र बनाएर गएका उनी अनेरास्ववीयू क्रांतिकारीको जिल्ला अध्यक्ष भए । स्थानिय तहमा उनले धेरै वटा भूगोलको कमाण्डार भएर काम गरे । धेरै वटा युद्ध मोर्चाहरु, जस्तै, भोजपुरको घोडेटार, अैसेलु खर्क, तराईको बन्दीपूर, दिक्तेल, उदयपुरको चिसापानी जस्ता धेरै लडाईमा उनी सहभागी भए ।
त्यसपछि उनले २०६३ सालमा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य र केन्द्रीय महाधिवेशनका आयोजक समिति सदस्यसम्म भएर काम गरे । अहिले उनी पार्टीको प्रदेश एक कमिटी सदस्य, र भूगोलको जिम्मेवारीमा सुनसरी इनरुवाको इञ्चार्जको रुपमा काम गर्दै आइरहेका छन् । उनले आफ्नो एउटा हात समयक्रममा गुमाएका छन् । एउटै हात मात्रले भएपनि उनले गाउँ समाजमा सेवा र संगठन विस्तार गरिरहेको बताएका छन् ।


