इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ मा एमालेको तर्फबाट अध्यक्षमा केशव गौतमले उम्मेदवारी दिएका छन् । 

२०७४ सालको निर्वाचनमा निर्वाचित वडाध्यक्ष समेत रहेका गौतमले पुन अध्यक्षमा उम्मेदवारी दिएका हुन् । 

२०४३ सालमा अनेरास्वीयुमा आवद्ध भए सँगै राजनैतिक यात्रा सुरु गरेका गौतमले क्रमश पार्टीमा सक्रीय रहेर काम गरे । त्यस क्रममा २०४७ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका उनले गाउँ कमिटीमा रहेर तीन कार्यकाल काम गरिसकेका छन् । 

उनले सुनसरी जिल्लाको क्षेत्र नम्बर ६ बाट क्षेत्रीय कमिटीको संगठन विभाग प्रमुख रहेर दुई कार्यकाल काम गरेका छन् । भर्खरै सम्पन्न अधिवेशनबाट उनले एमाले जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हालिरहेका छन् । 

रामधुनीको धेरै जनसंख्या भएको वडा भएकाले विगतका दिनमा सडक कालोपत्रे तथा स्तरोन्नती गर्ने काम सम्पन्न गरेको उनको भनाइ छ । उनले वडामा चार वटा पुल निर्माण, तटबन्धन, कल्भर्ट निर्माण गर्दै विकासको महत्वपूर्ण काम विगतमा सम्पन्न गरेको उल्लेख गरे । 

अझै धेरै कामहरु गर्न सक्ने तर दुई वर्ष कोरोनाको कारणले प्रभमवित भएको कारण केही कमी भएको अवस्था पनि रहेको उनले बताए । आगामी दिनमा मुख्य सडकहरुको पूर्वाधार निर्माण तथा कालोपत्रेको काम अघि बढाउने बताए ।

उनले खोला नालाको पानीले कटान गरी वडाका बस्तीहरुमा क्षती गर्ने हुँदा तटबन्धनलाई दोस्रो प्राथमिकतामा राखेको बताएका छन् । 

वडाबासीको जीवनस्तर उकास्ने खालका योजना अघि सारेको बताउँदै उनले भने, ‘किसानलाई सहुलियत रुपमा अनुदान प्रदान, युवाहरुको लागि स्वरोजगारको योजना, सिपमुलक तालिमको व्यवस्था गर्ने छौं । जसले समृद्धि सँग समुदायलाई जोड्न सकियोस् ।’

उनले महिलालाई स्वरोजगार, सिप मुलक तालिम र आत्मनिर्भर बनाउने योजना अघि सारेका छन् ।